२३ जेठ, सिन्धुली । सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले चितवनको माडीमा द्वन्द्वकालमा भएको भएको त्रासदीपूर्ण घटनाका दोषीलाई कारवाही गरेरै छाड्ने बताएका छन् । सिन्धुली पुगेका गुरुले गम्भीर प्रकृतिका र गैरन्यायिक घटनाका दोषीले कुनै हालतमा पनि उन्मुक्ति नपाउने बताए।
गम्भीर प्रकारका अपराधमा संलग्नलाई क्षमादान दिए फेरि द्वन्द्व सिर्जना हुने भन्दै त्यस्ता घटनामा संलग्नलाई उन्मुक्ति उनले बताए ।
मानवअधिकारका विश्वव्यापी मान्यता तथा सन् २०१२ मा अन्तर्राष्ट्रिय रेडक्रसले संयुक्त राष्ट्रसंघमा पेस गरेको नेपालको द्वन्द्वकालीन प्रतिवेदनका आधारमा काम गर्ने भएकाले त्यस्ता घटनामा संलग्नलाई कुनै हालतमा क्षमादान नहुने उनको भनाइ छ ।
माडी घटना स्मृति दिवसको पूर्वसन्ध्यामा उनले भने, ुद्वन्द्वका घटनालाई आयोगले वर्गीकरण गरेर छनबिन गर्छ। आयोगले दोषीलाई कारबाहीका लागि सिफारिस गर्ने भएकाले द्वन्द्व र युद्धको नियम तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनअनुसार कारबाही हुन्छ।ु उनले बलात्कार, यौनजन्य हिंसालगायतका गम्भीर प्रकारका र गैरन्यायिक घटनाका दोषीलाई माफी दिनै नसकिने बताए।
अध्यक्ष गुरुङले रामेछापको दोरम्बा घटनामा संलग्न राज्यपक्ष, चितवनको माडी घटनामा संलग्न तत्कालीन विद्रोही पक्ष र नवलपरासीको द्वन्द्वकालीन घटनामा संलग्नले कुनै पनि हालतमा उन्मुक्ति नपाउने प्रष्ट पारे।
आफूले तीनवटै घटनाको स्थलगत अध्ययन गरेको बताउँदै यी घटना गम्भीर प्रकारका र गैरन्यायिक रहेको दावी उनले गरे ।
दोरम्बा, माडी र नवलपरासी घटनाका दोषीहरूको पहिचानसमेत भइसकेको उल्लेख गर्दै अध्यक्ष गुरुङले ती घटनामा संलग्नलाई आयोगले उच्च चासोका आधारमा किटानीसहित कारबाहीका लागि सरकार र मानवअधिकार आयोगसमक्ष सिफारिस गर्ने बताए। यी घटनालाई संयुक्त राष्ट्रसंघले समेत उच्च चासोका साथ हेरेको उनको भनाइ छ।
यी घटनामा तत्कालीन विद्रोही पक्ष र राजनीतिक दलका साथै सरकारी पक्षका उच्च तहका व्यक्तिसमेत दोषी देखिएको संकेत उनले गरे ।
सरकारले गम्भीर प्रकारका घटनामा संलग्नलाई कारबाही नगरे नेपाली सेनाका कर्णेल कुमार लामाको जस्तै हालत अन्य दोषीको पनि हुने उनले बताए।












