२२ जेठ, काठमाडौं । राप्रपा नेपाल फुटाउने कसरतमा रहेका व्यक्तिहरुसँग राप्रपाका शक्तिशाली नेता डा. प्रकाशचन्द्र लोहनी नजिकिएका छन् । राप्रपा नेपालले कारवाही गरेका र विभिन्न जिम्मेवारीबाट कमल थापाले वर्खास्त गरेका नेताहरुले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले सबै राप्रपा शक्तिहरुबीच एकता आवश्यक रहेको धारणा व्यक्त गरे ।
राप्रपा नेपालको समानान्तर संगठन चलाएका दिलविकास राजभण्डारी, राप्रपा नेपालप्रति असुन्तुष्टी जनाइरहेका केशरबहादुर विष्ट, राप्रपा नेपालको प्रवक्ताबाट वर्खात गरिएका तर केन्द्रीय सदस्य यथावत रहेका विष्णु भट्टराई लगायतका व्यक्तिको सक्रियतामा काठमाडौंका वसुन्धरामा आयोजित सार्वजनिक कार्यक्रममा लोहनी प्रमुख वक्ता हुनुलाई महत्त्वका साथ हेरिएको छ ।
पूर्वपञ्चका पार्टीका रुपमा चिनिने विभिन्न राप्रपाहरुबीच एकता गर्नुपर्ने आवश्यकता रहेको र त्यसैको कसरतका लागि शनिबारको कार्यक्रम गरिएको लोहनीले बताए । तर, व्यक्तिगत टकरावका कारण विभिन्न गुटमा रहेका र गुटभित्र पनि तीव्र झगडा व्यहोर्दै आएका राप्रपाहरुबीच एकता हुने सम्भावना देखिएको छ । त्यसैले यही मेसोमा ती विभिन्न गुटहरुभित्रका असन्तुष्ट व्यक्तिहरुलाई समेटेर लोहनी नयाँ राप्रपाको अध्यक्ष हुने दाऊमा लागेको विश्लेषण गरिएको छ । हुन त लोहनी राप्रपाको आलोपालो प्रणालीमा अध्यक्ष बन्ने पर्खाइमा रहेका नेता हुन् । तर, राप्रपाभित्रका नेताहरुले बारम्बार धोका दिएकाले लोहनी नयाँ पार्टी बनाएर अध्यक्ष बन्ने मनस्थितिमा रहेको उनी निकट नेताहरु बताउँछन् ।












