२१ जेठ, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले पार्टीमा एकलौटी गरेको र पार्टी विभागलाई पूर्णता नदिएको भनी नेता माधव नेपाल पक्षले सार्वजनिक बहस अगाडि ल्याएपछि ओलीले पार्टीका विभागलाई पूर्णता दिएको घोषणा गरेका छन् । ओलीले नेपाल पक्षलाई जवाफ दिने गरी शुक्रबार पार्टी मख्यालयमा आयोजना गर्न भनेको पत्रकार सम्मेलनमा नेपाल पक्षले उल्टै ओलीलाई चोट दिएको छ ।
महाधिवेशन भएको लामो समयपछि नेकपा एमालेका ३१ वटा केन्द्रीय विभागले पूर्णता पाएको जानकारी गराउन एमालेले गरेको पत्रकार सम्मेलनमा नेपाल पक्षीय पार्टी सचिव योगेश भट्टराईले सरकार परिवर्तन बारे एमाले खुल्ला रहेको धारणा सार्वजनिक गरे । विवाद मत्थर पार्न गरेको ओलीको कसरतमा उल्टै उनैलाई चोट दिने गरी भट्टराईले अभिव्यक्ति दिएपछि ओली पक्षधर चिन्तित बनेको छ । सत्ता साझेदार माओवादीले निहुँ खोजिरहेका बेला आफ्नै दलका नेताहरुले पार्टीको आधिकारिक पत्रकार सम्मेलनमा सरकार फेर्न एमाले खुल्ला रहेको बताएपछि ओलीलाई घाऊमाथि नुनचुक छर्केजस्तो भएको छ ।

शुक्रबार पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गर्दे एमालले सबै बिभागको नामावली सार्वजनिक गर्यो । विधान अनुसार प्रमुख सहित एमालेको केन्द्रीय विभागमा २५ सदस्य रहेका छन् । संगठन विभाग बिहीबारमात्रै टुङ्गो लगाईएको सचिव योगेश भट्टराईले जानकारी दिए । लगातारको छलफलपछि ३१ वटा विभागको नाम टुंगो लागेको उनले जानकारी दिए ।
भट्टराईले यस्तो जानकारी मात्र दिएनन् आफ्नै अध्यक्षले प्रधानमन्त्री पद छाड्नुपर्ने खतराको घण्टी समेत पत्रकार सम्मेलनमा बजाए । पत्रकार सम्मेलनमा उपस्थित ढुलमुले नेता झलनाथ खनालले समेत ओलीलाई समर्थन गरेनन् । आफूलाई ओलीले राष्ट्रपति नबनाएको झोँक समेत उनले फेरे ।
ओलीका हनुमानी तथा पानी ट्याङ्कीमा पैसा लुकाएर भ्रष्ट्राचार गरेर नाम कमाएका महासचिव ईश्वर पोखरेलले पनि माधव नेपाल र खनाल पक्षका नेताहरुसँग कडा प्रतिवाद गर्न सकेनन् । दलहरुबिच सहमतिकै आधारमा सरकारको कुरा अघि बढ्ने सामान्य भनाइ उनले राखे ।
बजेट अघि सरकार सञ्चालन लगाएतका विषयमा एमाले र सत्तारुढ माओवादीबीच ९ वुँदे सहमति भएको थियो । तर सरकार परिवर्तनका बिषयमा भने माओवादीले मौखिक सहमति भएको बताउँदै आएको छ भने एमाले अध्यक्ष केपी ओलीले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाकै शैलीमा भद्र सहमति नमान्ने बताउँदै आएका छन् ।












