२१ जेठ, बारा । नेपालमा भारतविरोधी भावना बढिरहेको बदला लिने गरी भारतले नेपाली भूमि मिच्ने क्रमलाई तीव्रता दिएको छ । पर्साको अलौं सिर्सियामा रहेका तीन सिमास्तम्भ उखेलेर फ्याँकेर भारतले नेपाली भूमि मिचेको हो । वीरगंजमा एकीकृत भन्सार जाँच चौकी आइसीपी बनाइदिने नाममा भारतले नेपाली भूमि अतिक्रमण गरिरँदा पनि स्थानीय प्रशासन र सरकार चुप लागेर बसेको छ । वीरगंजको अलौं सिर्सियामा नेपाल र भारत दुवैतर्फको आईसीपीको भौतिक संरचना निर्माण कार्य भारत सरकारले नै गर्दै आएको छ । दसगजा क्षेत्रमा आईसीपीको निर्माण भइरहेको छ ।

आईसीपीको भारततर्फको भौतिक संरचना भने बनिसकेको छ । नेपालतर्फ आईसीपीको निर्माणकार्य जारी छ । दुवै देशको आईसीपीको पर्खाल दसगजा क्षेत्रमा रहेको सीमा स्तम्भभन्दा ठीक १० गज पर निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
भारत सरकारले आफ्नोतर्फको आईसीपीको सिमेन्टेड पर्खाल सीमा स्तम्भभन्दा ठीक १० गजको दूरीमा बनाएको छ भने नेपालतर्फको पर्खाल दसगजामा रहेको सीमा स्तम्भभन्दा नेपाली भूमितर्फ करिब १७ गज भित्र पर्ने गरी बनाएको छ ।
भारत सरकारले नेपाली भूमि मिचेर आईसीपीको पर्खाल बनाएको भन्दै वीरगंज अलौं सिवानटोलका वासिन्दाले गुनासो गरेपछि यही जेठ ११ गते क्षेत्रीय प्रशासक मुकुन्दराजप्रकाश घिमिरे नेतृत्वको उच्च अधिकारी सम्मिलित टोलीले आईसीपीको स्थलगत निरीक्षण गरेको थियो । टोलीमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जका प्रमुख विदुर खड्का, पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठ र सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापा पनि सहभागी थिए ।
आईसीपीको नेपालतर्फ बनाइएको पर्खाल दसगजा क्षेत्रमा रहेको सीमा स्तम्भबाट ठिक १० गजको दुरीमा नभएर नेपाली भूमितर्फ नै बढी पर्ने गरी बनाएको भेटिएको पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । तर भारतले जग्गा मिचेर बनाएको आइसीपी भत्काउने पक्षमा स्थानीय प्रशासन छैन । अब पर्खाल भत्काउनुभन्दा पनि नेपाली भूमिलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको घिमिरेले बताए ।
आईसीपीको पर्खाल लगाइएको दुवै देशबीचको दसगजा क्षेत्रमा रहेका सीमा स्तम्भ उखेलेर फालिएका छन् । पर्खाल लगाउनुभन्दा पहिले त्यस क्षेत्रमा तीनवटा सीमा स्तम्भ रहे पनि अहिले त्यहाँ एउटा पनि सीमा स्तम्भ छैनन् । पर्खालको बीचमा रहेको दसगजा क्षेत्रमा भारतले चारवटा पक्की कल्भर्ट पनि बनाएको छ । ती कल्भर्ट पनि दसगजा क्षेत्रदेखि नेपाली भूमितर्फ नै पर्ने गरी बनाइएका छन् ।
दुई वर्षभित्र सञ्चालनको लक्ष्य राखेर भारत सरकारले सन् २०११ मा निर्माण सुरु गरेको आईसीपी पाँच वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन ।
आईसीपीमा भारततर्फको निर्माण कार्य पूरा भएको छ भने नेपालतर्फको ६७ प्रतिशतमात्र काम सम्पन्न भएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जले जनाएको छ ।
भारत सरकारले एक अर्ब ३९ करोड रुपैयाँ लागतमा उपहारस्वरूप आईसीपी बनाइदिन लागेको हो । आईसीपीका लागि पर्साको सिर्सिया र अलौमा गरी तीन सय १५ जना जग्गाधनीको एक सय १५ बिघा क्षेत्रफल जग्गा नेपाल सरकारले अधिग्रहण गरेको छ ।
नेपालतर्फको आईसीपीको निर्माणकार्य अधुरै रहेका बेला भारतले बनाइसकेको आईसीपी एकतर्फी रूपमा सञ्चालन गर्ने तयारी गरेको छ । भारततर्फको आईसीपीको उद्घाटन शुक्रबार गर्ने कार्यक्रम छ । भारतले वीरगन्ज–रक्सौल नाकामा रहेको भारतीय भन्सार कार्यालय १३ किलोमिटर टाढा रहेको आईसीपीमा सार्न लागेको हो ।

![ef/tLo jg ljefuåf/f bzuhfdf afFw g]kfnsf] ;xdltlag} k'gjf{;sf] k/f;gsf] aLrkmfF6fl:yt g]kfn–ef/t ;Ldf :tDe g+ !(! b]lv !($ ;Dd sl/a tLg lsdL nDafOsf] df6fsf] afFw agfpg ;'? ul/Fb} . tl:a/ M bLk]Gb| s'df/ a:g]t, s~rgk'/, /f;; .](https://nepaldesh.com/wp-content/uploads/2016/06/Nepal-india-boarder.jpg)










