२० जेठ, चितवन । नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध बनेको छ । सो सडकखण्डको कालिखोलामा विहीबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा लामो दूरिका सयौं सवारी साधन बाटोमै रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चण्डीभञ्ज्याङ गाविस–६ कालिखोलास्थित सडकमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बिहान ६ बजेदेखि अवरुद्ध भएको सडक पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । बुधबार साँझ ७ बजे पनि सो क्षेत्रमा पहिरो खसेपछि केहीबेर सडक अवरुद्ध भएको थियो ।
राजधानी काठमाडौँ र पोखरा लगायतका क्षेत्रलाई तराईसँग जोड्ने सो सडक दिनमा चार घन्टा आवागमन बन्द गराएर मर्मतसम्भार कार्यलाई तीव्रता दिइँदै आएको छ ।














