१९ जेठ, काठमाडौं । प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्ति बस्नेतबीच विवाद चुलिएको छ । गृहमन्त्री बस्नेत प्रधानमन्त्रीले दिएको सरुवा बदरको निर्देशन नमान्ने अडानमा छन् भने निर्देशन नमाने प्रधानमन्त्री ओलीले गृहमन्त्रीलाई वर्खास्त गर्ने चेतावनी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ५१ जनाको सरुवा गर्ने गृहको निर्णय सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले गृहमन्त्री बस्नेतलाई सरुवा बदर नगर्ने भए पदबाट राजीनामा दिन आग्रह गरेका हुन् । राजिनामा नदिए वर्खास्त गर्ने धम्की ओलीले दिइसकेको स्रोत बताउँछ ।
गृहमन्त्री बस्नेतले भने सरुवासम्बन्धी निर्णय नसच्चिने ठाडो जवाफ प्रधानमन्त्री ओलीलाई फर्काएका छन् । यही विषयलाई आधार मानेर सत्ता समिकरण अफ्ठ्यारोमा पर्ने संकेत देखिएको छ ।
एकातिर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सत्ता छाड्ने आश्वासन आफूले नदिएको बताउन थालेका ओलीलाई दनक दिनकै लागि एमाओवादीले प्रजिअको सरुवा गरेको बुझिएको छ । स्थानीय निर्वाचन गर्ने कसरतमा लागेको एमालेले आफूलाई सिद्याउने बुझेपछि माओवादीले पनि आफ्नो स्थान सुरक्षित राख्न प्रजिअको सरुवा गरेको बुझिएको छ ।











