१७ जेठ, काठमाडौं । आफूलाई लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको ठेकेदार दावी गर्दै अन्तर्राष्ट्रिय अनुदानदेखि राणाहरुका जग्गा हडपेका कनकमणि दीक्षितले सरकारी क्याम्पसको जग्गा समेत हडपेको खुलासा भएको छ । पाटन क्याम्पसको जग्गा समेत दीक्षितले हडपेको दावी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ ।
कनकमणि दीक्षित र उनको परिवारले गैरकानुनी रुपले हडपेको १८ रोपनी जग्गा सरकारको नाममा ल्याउन अख्तियारले भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।
जगदम्बाकुमारी राणाबाट सरकारको नाममा आउनुपर्ने जग्गा दीक्षित परिवारले आफ्नो नाममा सारेको प्रमाणसहित अख्तियारले आइतबार मन्त्रालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।
मदन पुरस्कार पुस्तकालय र जगदम्बा प्रेसका नाममा रहेको जग्गासहित पाटन क्याम्पसको नाममा रहेको जग्गा पनि दीक्षित परिवारले आफ्नो नाममा सारेको अख्तियारको दावी छ । दीक्षित परिवारको स्वदेश तथा विदेशमा रहेको थप अकुत सम्पत्तिमाथि छानबिन भइरहेको स्रोतले जनाएको छ । दीक्षितले विभिन्न दूतावासबाट रकम लिने गरेको कुरा यसपहिले नै सार्वजनिक भैसकेको छ । आफूलाई ‘आचार्य’बाट ‘दीक्षित’ भएको ठान्ने तर शिक्षादीक्षा लिने क्याम्पसकै जग्गा हडप्ने दीक्षित परिवारको यो कार्य विडम्बनायुक्त देखिन्छ । शैक्षिक संस्थाकै जग्गा हडप्ने व्यक्तिलाई कसरी शिक्षादीक्षाले भरिपूर्ण ‘दीक्षित’ मान्ने ?












