१७ जेठ, काठमाडौं । सत्ता साझेदार माओवादीको एजेण्डा समेत बजेटमा समावेश गर्ने शर्तमा सरकारमा टिकिरहेका प्रधानमन्त्री केपी ओलीले अन्ततः माओवादीलाई धोका दिएपछि ओली र प्रचण्डबीच टकराव सुरु भएको छ । शनिबार संसदमा प्रस्तुत भएको बजेटमा किसानलाई पेन्सन दिने र जनयुद्धका सहिद परिवारलाई तामाकोशी जलविद्युत आयोजनामा १० लाख रकमको शेयर दिने सहमति प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलले लत्याएपछि माओवादी असन्तुष्ट बनेको हो ।
यसै विषयलाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार विहान प्रधानमन्त्री केपी ओलीलाई वालुवाटारमा भेटेर गुनासो पोख्दै चेतावनी समेत दिएका छन् । आफूहरुसँग भएको सहमति कार्यान्वनय नभएको र बजेट संशोधन नगरी पारित हुन नदिने चेतावनी समेत प्रचण्डले दिएका छन् । यसअघि आइतबार बसेको माओवादी संसदीय दलको बैठकले जोडदार रुपले आवाज उठाउने निर्णय गरेको थियो । तर एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले एमाले संसदीय दलको बैठकमा आफ्ना धारणा राख्दै सरकार टिकाउन एमाओवादीसँग कुनै सहमति नभएको बताएका थिए ।
प्रधानमन्त्री ओलीले सरकार टिकाउन कुनै सहमति नभएको भनी धारणा व्यक्त गर्नुले बजेट ल्याइसकेपछि आफूहरु बलियो भएको र पारित हुन नदिए माओवादी र कांग्रेस जनताबाट बद्नाम हुने अडकल उनले गरेको अनुमान गर्न सकिन्छ । यो लक्षणले ओलीले तत्काल माओवादी अध्यक्ष प्रचण्डका लागि सत्ता छाडिदिने सम्भावना पनि देखिन्न ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बजेट पारित हुन नदिने र सरकार ढाल्ने दुवै चेतावनी दिए पनि ओली भने तत्काल सरकार नछाड्ने दाऊमा रहेको एमाले स्रोतले जनाएको छ ।












