२१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाली काँग्रेसले संसदमा सरकारको आलोचना गर्ने चाल पाएपछि कांग्रेस सांसदहरुलाई भिड्न तयार रहन निर्देशन दिएका छन् । संसद् भवनमा नयाँ वानेश्वरमा संसदीय दलको बैठक बोलाएर एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले कांग्रेस सांसदहरुलाई मुखभरिको जवाफ फर्काउन आफ्ना सांसद्हरुलाई निर्देशन दिएका हुन् । प्रतिपक्षी कांग्रेसले सरकारको कडा आलोचना गर्न आफ्ना सांसदलाई निर्देशन दिएसँगै एमालेको यस्तो निर्देशन आएको हो । सरकार र प्रमुख प्रतिपक्षी दुवै दलको यस्तो तयारीले संसदको बजेट अधिवेशनमा यसपल्ट झनै भिडन्त हुने लक्षण देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणको काम ढिला हुनुमा काँग्रेस नै दोषी रहेको तथा काँग्रेस नेतृत्वको अघिल्लो सरकारको कमजोरीका कारण मधेशकेन्द्रित दल आन्दोलन गर्ने स्थितिमा पुगेको भन्दै सरकारको बचाउ गर्न सांसद्हरुलाई निर्देशन दिए । भारतको साढे चार महिना लामो नाकाबन्दी लगाएको परिणाम आपूर्ति व्यवस्था असहज हुँदा सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै नाकाबन्दी र मधेसकेन्द्रित दलको आन्दोलन अघिल्लो सरकारकै पालामा सुरु भएकाले यी विषयलाई लिएर सरकारको आलोचना भए काँग्रेसका सांसद्हरुलाई मुखभरिको जवाफ दिनुपर्ने ठहर ओलीको थियो ।
प्रधानमन्त्री ओलीले आफू काँग्रेसले कठै विचरा भनेर नभई सुविधाजनक वहुमत ल्याएर निर्वाचित भएको भन्दै काँग्रेसले सरकार ढाल्ला भनेर चिन्तित नहुन सांसद्हरुसँग आग्रह समेत गरे । उनले सरकार अविश्वास प्रस्ताव फेल गराउन सक्ने अवस्थामा रहेकाले नआत्तिन आग्रह गरेको प्रमुख सचेतक भानुभक्त ढकाल जानकारी दिएका छन् ।
सांसद्हरुलाई दिएको कडा निर्देशन खिच्न समेत रोक लगाइएको थियो । यसअघिका बैठकमा भने एमालेले पत्रकारलाई बैठकमा प्रवेश गरी दृश्य खिच्न दिने गरेको थियो । विश्व प्रेस स्वतन्त्रता दिवसको दिनमा नै ओलीले पत्रकारहरुलाई दृश्य खिच्नबाट समेत रोक लगाएका हुन् ।












