२१ वैशाख, चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस स्वतन्त्रतालाई कसैले पनि अंकुश लगाउन नसक्ने भन्दै यसप्रति सबै जिम्मेवार हुनुपर्नेमा जोड दिएकी छिन् ।
मंगलवार चितवनको रत्ननगरमा सुरु नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्घाटन गर्दै भण्डारीले श्रमजीवी पत्रकारहरुको पारिश्रमिक र सुविधाप्रति सरकार र संचारगृह सकरात्मक हुनुपर्ने बताइन् ।
लिखित मन्तव्य दिंदै राष्ट्रपति भण्डारीले व्यक्तिगत गोपनियतालाई ख्याल गर्न पत्रकारहरुलाई आग्रह गरिन् । प्रेस स्वतन्त्रतालाई कसैले पनि अंकुश लाउन नसक्ने भन्दै यसप्रति सबै जिम्मेवार हुनुपर्ने तर्क उनको थियो ।
सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उद्योग मन्त्री सोमप्रसाद पाण्डेले अब देश विकासका लागि आर्थिक क्रान्तिको जरुरी रहेको बताए ।
साधारणसभामा प्रेस काउन्सीलका अध्यक्ष बोर्ण बहादुर कार्की , पत्रकार महासंघका पुर्व अध्यक्ष हरिहर विरहीले मन्तव्य राख्नुभएको थियो । सो क्रममा विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो ।
साधारणसभामा मुलुकभरका एक हजार ६ सय ५१ प्रतिनिधि सहितका पत्रकारहरुको सहभागिता रहेको छ ।












