२१ वैशाख, काठमाडौं । सरकारले आगामी आव ०७३÷७४ को नीति तथा कार्यक्रम यही वैशाख २६ गते सदनसमक्ष प्रस्तुत गर्ने भएको छ ।
व्यवस्थापिका–संसद् सचिवालयले चालु अधिवेशनमा प्रस्तुत हुने मुख्य कार्यक्रम र त्यसका लागि बनाएको प्रारम्भिक समय तालिकामा सो कुरा उल्लेख छ । नेपालको संविधानमा व्यवस्था भए अनुसार सरकारको आगामी आवको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन अपराह्न ४ बजे सदन समक्ष प्रस्तुत गर्नुहुनेछ । त्यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) आगामी जेठ १५ गते अपराह्न ४ बजे प्रस्तुत गर्ने गरी संसद् सचिवालयले कार्यसूचीको खाका तयार गरेको छ ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि अध्ययन र संशोधन गर्न वैशाख २७ गते बिहान ११ देखि ४ बजेसम्मको समय प्रस्ताव गरिएको छ । सदनमा वैशाख २८ देखि ३० गतेसम्म छलफल हुने सरकारको नीति तथा कार्यक्रम पारित गर्नका लागि वैशाख ३१ गते निर्णयार्थ प्रस्तुत गरिने छ ।
सरकारले आह्वान गरे अनुसार राजनीतिक दलले भूकम्पपछिको पुनःनिर्माणमा स्वयम्सेवी परिचालन गर्ने सन्दर्भलाई दृष्टिगत गरेर जेठ १ देखि १२ गतेसम्म संसद्को बैठक नराखिने भएको छ ।
जेठ १३ गते मुलुकको आर्थिक सर्भेक्षण प्रस्तुत गरिने छ भने बजेटमाथिको सामान्य छलफलका लागि जेठ १७ देखि १९ गतेसम्मको दिन प्रस्ताव गरिएको छ ।
अर्थमन्त्रीबाट बजेट छलफलका क्रममा उठेका प्रश्नको जेठ २० गते जवाफ दिएपछि संसद्को बैठक जेठ २१ देखि ३२ गतेसम्म बस्ने छैन । विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल र विनियोजन विधेयक पारित गर्ने समय असार १ देखि १५ गतेसम्मको दिन छुट्याइएको छ ।












