२१ वैशाख, काठमाडौं । लेस्टर सिटीले पहिलो पटक इंगलिस प्रिमियर लिगको उपाधि जितेर इतिहास रचेको छ। सिजनको सुरुवाततिर रेलिगेसनमा पर्ने भनी आँकलन गरिएको टिमले चेल्सी, म्यानचेस्टर युनाटेड, म्यानचेस्टर सिटी लगायतका बलिया मानिएका टिमलाई पछि पार्दै दुई खेलअघि नै उपाधि जित्यो।
सोमबार राती चेल्सीसँग भएको खेल टोटनह्यामले आफ्नो पक्षमा पार्न सकेको भए उपाधि होड केही रोमाञ्चक हुन सक्थ्यो। तर टोटनह्याम २-२ को बराबरीमा रोकिएपछि लेस्टरको उपाधि पक्का भएको हो। लिगमा अब खेल्न बाँकी दुबै खेल गुमाएपनि लेस्टर विजेता बनिसकेको छ। लेस्टरले ३६ खेलबाट ७७ अक जोडेको छ भने दोश्रो स्थानमा रहेको टोटनह्यामले समान खेलबाट ७० अंक जोडेको छ।
गएराती लेस्टरका खेलाडी सबै जेमी भर्डीको घरमा भेला भएर चेल्सी र टोटनह्याम विरुद्धको खेल हेरेका थिए। जब खेल सकिएको थियो उनीहरुले ठूलो खुशियाली मनाए।
यसवर्ष उसले खेलेका ३६ खेलमा जम्मा ३ खेलमात्र गुमाएको छ। प्रिमियर लिगमा सबैभन्दा धेरै २२ खेल जितेको छ भने ११ खेल बराबरी खेलेको छ। जम्मा तीन खेलमात्र हारेर इतिहासमा नै असम्भव विजय हासिल गरेको छ। लेस्टरबाट फुटबल खेलेका इंगल्याण्डका पूर्व स्ट्राइकर ग्यारी लेनेकरले लेस्टरको जितलाई आफ्नो जीवनकालकै सबैभन्दा ठूलो घटना भनेका छन्।
चालु सिजनमा इटलीका नागरिक क्लाउडियो रिनेरीले टिम सम्हालेपछि टिमले एक पछि अर्को सफलता हात पार्दै अन्तिममा विजयी समेत बन्यो। यो सँगै लेस्टरले आउँदो सिजनमा च्याम्पियन्स लिग पनि खेल्न पाउने भएको छ।












