१४ वैशाख, काठमाडौं । बेलायतकी युवराज्ञी केट मिडलटनदेखि हलिउड सेक्स गायिका लेडी गावा तथा बलिउड सेक्स सिम्बोल नायिका क्याट्रिना कैफ र दीपिका पादुकोणको ड्रेस डिजाइन गर्ने व्यक्तिले अब नेपाल प्रहरीको ड्रेस डिजाइन गर्ने भएका छन् । नेपाल प्रहरीलाई स्मार्ट बनाउनका लागि भन्दै विश्वप्रसिद्ध ड्रेस डिजाइनर प्रवल गुरुङसँग प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले प्रस्ताव गरेका हुन् ।
हालै नेपाल आएका गुरुङसँग नेपाल प्रहरी प्रमुख अर्यालले भेटेर यस्तो प्रस्ताव गरेका हुन् । अर्यालको प्रस्तावमा गुरुङले नेपाल प्रहरीको युनिफर्मलाई ‘स्मार्ट’ बनाउन सहयोग गर्ने बताए । प्रहरीको हालको युनिफर्म थप आकर्षक बनाउने गरी डिजाइन गर्ने प्रतिबद्धता गुरुङले जनाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका सबै किसिमका युनिफर्मका डिजाइन उनले मागेका छन् । उस्तै कपडा भए पनि अरू देशको प्रहरीकै ड्रेस निकै स्मार्ट देखिने भएको भन्दै नेपाल प्रहरीले पनि ड्रेस स्मार्ट बनाउन लागेको जनाइएको छ ।
यसै सन्दर्भमा प्रहरी प्रमुख अर्यालले नेपाल प्रहरीको ‘मानार्थ सदस्य’ उपाधि समेत प्रदान गरेका छन् । प्रहरी महानिरीक्षक अर्यालसँगको भेटपछि आफू नेपाल प्रहरीको ‘मानार्थ सदस्य’ भएको भन्दै गुरुङले ट्विट गरेका छन् । अर्यालले गुरुङलाई ‘टोकन अफ लभ’ दिएको प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले बताए ।
शनिबार न्यूयोर्क फर्किएका गुरुङले उतैबाट डिजाइन गरेर नमुना नेपाल पठाउने बचन दिएका छन् ।
सिंगापुरमा जन्मिएर काठमाडौंमा हुर्किएका गुरुङ विश्वका चर्चित ड्रेस डिजाइनर बनेका हुन् । भारतको नयाँदिल्लीको नेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीमा अध्ययनका क्रममा उनले आफ्नो करिअर सुरु गरेका हुन् । सन् १९९९ मा न्यूयोर्क पुगेका गुरुङ अहिले चर्चामा छन् । बाराक ओबामाकी पत्नी मिचेल ओबामाले समेत उनले डिजाइन गरेको ड्रेस लगाउने दावी उनको छ ।












