१० वैशाख, काठमाडौं । एमालेले बजेट ल्याए कांग्रेस र एमाओवादीको राजनीति संकटमा पर्न सक्ने भन्दै दुवै दलले यतिवेला ओली सरकार ढाल्ने भित्री कसरत गरेका छन् । कांग्रेस सभापति शेरबहादुर यही रणनीतिका लागि भारतीय पक्षसँग दिल्लीमा छलफलमा छन् भने ओली सरकार ढाल्ने घोषणा एमाओवादी नेताहरुले गरिसकेका छन् ।
यसै मेसोमा कानुमन्त्री अग्निप्रसाद खरेलले सरकारले व्यवस्थापिका संसद्को बैठक तत्काल बोलाएर सरकारले जेठ १५ मा बजेट ल्याउने तयारी गरेको जानकारी दिएका छन् ।
कानूनमन्त्री खरेलले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी संसद्को बैठक तत्काल बोलाउने विषयमा सरकारमा छलफल भइरहेको बताए । उनले संविधानमा नै जेठ १५ गते बजेट सार्वजनिक गर्ने उल्लेख भएकाले सरकार त्यस अगावै बैठक बोलाउने तयारीमा लागेको बताए । उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आग्रहमा नै यसअघि संसद् बैठक अन्त्य गरिएको भन्दै काँग्रेसले अहिले सरकारले संसद् बैठक बोलाएन भनेर वक्तव्यबाजी गर्नुको कुनै अर्थ नरहेको बताए ।
कानुनमन्त्री खरेलले संविधान कार्यान्वयनका लागि १ सय १० वटा विषयमा संघीय कानुन, २२ वटा विषयमा प्रदेश कानून र ६ वटा विषयमा स्थानीय कानून बनाउनुपर्ने पहिचान गरिएकामा तीमध्ये १४ प्रतिशत विषयमा विधेयकको प्रारम्भिक मस्यौदा तथा ४९ प्रतिशत विषयमा अवधारणापत्र तयार पारिसकिएको जानकारी दिए । उनका अनुसार कानून मन्त्रालयले ३४ प्रतिशत विषयमा विधेयकको प्रारम्भिक मस्यौदा तयार पार्न सम्बन्धित मन्त्रालयहरुलाई सैद्धान्तिक सहमति दिइसकेको छ ।
एमालेले मनमोहन अधिकारीको प्रधानमन्त्रीत्व कालको आफ्नो गाउँ आफैं बनाऔं जस्तो पपुलर कार्यक्रम बजेटमा ल्याउन सक्ने भन्दै कांग्रेस र एमाले भने तर्सिएका छन् । सत्ता साझेदार दलसँग परामर्श नगरी एमालेले सबै क्षेत्रमा एकलौटी निर्णय गरेकोले एमाओवादी सिद्याउने योजनासहितको बजेट एमालेले ल्याउन लागेको र न्यायलयमा सक्रिय नेतालाई न्यायधीश बनाएर माओवादीलाई अर्कोतर्फबाट सिद्याउने योजना एमालेको रहेको दावी एमाओवादी नेता गोपाल किराँतीले नेपालदेश डटकमसँग गरेका छन् ।











