६ वैशाख, काठमाडौं । हिन्दू राष्ट्र पुनस्र्थापनाका नाउँमा राजसंस्था फर्काउने षडयन्त्र हिन्दूवादी र राजावादीहरुले गरिरहेको खुलासा भएको छ । एक महिनापछि भारतको उज्जैनमा हुने वाह्र वर्षे कुम्भ मेलाको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रमुख आतिथ्यतामा हिन्दूवादीहरुले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने तयारी गरेका छन् । यही तयारी स्वरुप नेपाल हिन्दू राष्ट्र पुनस्र्थापना मंच भारतका अध्यक्ष विष्णुप्रसाद वरालले सोमबार पूर्वराजा ज्ञानेन्द्र शाहसँग नागार्जुन दरबारमा भेट गरेका छन् ।
उज्जैनमा मे महिनामा हुने बाह्र वर्षे कुम्भ मेलामा करोडौं हिन्दूहरु स्नान गर्न पुग्ने गर्दछन् । यही मौकामा विभिन्न बाबाजीहरुको समेत सहभागितामा नेपाललाई हिन्दू राष्ट्र घोषणा गरिने तयारी हिन्दूवादी नेताहरुले गरेका छन् ।
उज्जैनमा मे १८ मा नेपाल हिन्दू राष्ट्र पुनस्र्थापना मंचले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह मे १७ मा भारत पुग्ने तय भएको मंचका अध्यक्ष बरालले बताए । उज्जैनमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न आफूलाई भारत सरकार तथा मध्यप्रदेश सरकारको सहयोग रहेको दावी समेत बरालले गरेका छन् । सोमबार पूर्वराजा शाहसँग भएको भेटमा नेपाललाई हिन्दू राष्ट्र बनाउने र राजसंस्था समेत फर्काउने विषयमा कुराकानी भएको बरालले नेपालदेश डटकमलाई बताए ।

पूर्वराजालाई आश्वास दिने वराल को हुन् ?
पूर्वराजा शाहलाई राजतन्त्र फर्काउने आश्वासन दिने विष्णुप्रसाद वराल भारतीय सरकारी सेवामा ईञ्जिनियर पदमा कार्य गरी अवकाशप्राप्त व्यक्ति हुन् । मूलतः उनी नेपाली भए पनि भारतीय सेवामा लामो समय काम गरेका र थुप्रै व्यापार व्यवसाय भएका वरालको पुख्र्याैली घर पोखरा हो । यद्यपि उनी भारतमै बस्दै आएका छन् ।
यसभन्दा पहिले उनले कालीदास बाबा, तथा मुम्बइमा शिव सेना प्रमुखका निकट व्यक्ति मास्टर थापासहितलाई समेटेर दिल्लीमा नेपालको नयाँ संविधान जलाउने काम समेत गरेका थिए । बराल आफूलाई भारतीय जनता पार्टी र त्यसको संगठन आरएसएस निकट भएकाले बताउने गर्दछन् । भारतीय खुफिया एजेन्सीसँग समेत उनको निकटता रहेको सूत्रहरु बताउँछन् ।













