४ वैशाख, जुम्ला । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल कांँग्रेस नेतृत्वमा सरकार वन्ने कुनै आधार नभएको स्पष्ट पारेका छन् ।
सदरमुकाम खलङ्गामा शनिवार आयोजित साक्षात्कारमा उनले भने,’ काग्रेसले गिराउन खोज्दैमा सरकार गिर्दैन । यो सरकार संसदको बहुमत र जनताको म्याण्डेडबाट बनेकोले कसैले गिराउँदैमा गिर्ने, कसैले ढाल्दैमा ढल्ने खाले होइन । सरकारले जनताको चाहना अनुसार काम गरेरै छाड्छ । अव काँग्रेसलाई सरकारमा सहभागि गराई राष्ट्रिय स्वरुप दिने विषयमा छलफल अघि वढ्छ । त्यसको लागि मैले पहल गर्छु ।’ प्रचण्डले थपे,’ अहिले काँग्रेससँग यो सरकारमा सहभागी हुनुको विकल्प छैन । काँग्रेसले पनि यही सरकारमा आएर संविधान कार्यान्वयनमा सहयोग गर्नुपर्छ ।’
प्रचण्डले काँग्रेस सहित मधेशवादी दल एकै थलोमा आएर सहमतिमा संविधान कार्यन्वयनका लागि ऐन वनाउनतर्फ आफूलाई केन्द्रीत गर्नु पर्ने धारणा राखे । उनले भने,’ मधेश आन्दोलनले उठाएका केही मागहरु संवोधन भएको छ । बाँकी असन्तुष्टीहरुको विषयमा संबादमा बसेर समाधान गर्न सकिन्छ । त्यसकोलागि हामी खुल्ला छौ ।’
प्रचण्डले भुकम्प पछिको परिस्थिती र नाकावन्दीका कारण श्रृजित समस्या समाधानकोलागि विशेष योजना निर्माण गरिने समेत साक्षात्कारमा जानकारी दिए ।
उनले माओवादी फुट्दा देशको हित नभएकोले अब सबै माओवादीहरु एक ठाँउमा हुने दावी गरे । आदीबासी, जनजाती, कर्णाली जस्तो पिछडिएको क्षेत्र कमजोर हुने भएकोले त्यसका लागि वलियो माओवादीको खाँचो रहेको उनले औल्याए ।
प्रचण्डले आगामी वजेट तथा कार्यक्रममा कर्णालीलाई संवोधन कसरी गर्न सकिन्छ भन्ने वारेमा वुझ्न आफू कर्णाली भ्रमणमा आएको जानकारी दिदै कर्णालीको समग्र विकासको लागि विशेष ध्यान दिने बताए ।
उनले तत्काल कर्णालीका खडेरी पिडित किसानको राहतको लागि पहल गर्ने भन्दै यहाँका शिक्षा, स्वास्थ्य र विकासमा वढि जोड दिएर आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे ।
संविधान निर्माण पछि वनेको सरकारले जनताका आवश्यकता वमोजिमका नीति तथा कार्यक्रम वनाउनु पर्नेमा जोड दिंदै कर्णालीवासीसँग सुझाव माग्दै आफु कर्णाली भ्रमणमा निस्केको वताए ।












