४ वैशाख, काठमाडौं । भारतीय आडमा राजनीति गर्दै आएका डा. दुई राजनीतिक शक्ति, अमेरिकाको आडमा राजनीति गर्दै आएको एक विखण्डनकारी शक्ति र चीनको सहयोग पाउने आशमा फेरि जनयुद्ध गर्ने तयारी गरिरहेको शक्तिलाई नेपालको सुरक्षा संयन्त्रले भने उच्च निगरानीमा राखेको छ ।
माओवादी जनयुद्धकालमा भारतकै दवावमा जीवन रक्षा भएका र प्रधानमन्त्री हुँदा त्रिभुवन विमानस्थलको व्यवस्थापन समेत भारतलाई दिन तयार भएका बाबुरामको नयाँ शक्तिसहित मधेसी मोर्चालाई उच्च निगरानीमा राखेको विशेष सुरक्षा बैठकमा सार्वजनिक भएको हो । त्यस्तै अमेरिकाको आडमा मधेस टुक्र्याउने योजना बनाइरहेका सिके राउत र चीनको सहयोग पाउने आशामा पुनः जनयुद्ध गर्न थालेका नेत्रविक्रम चन्द विप्वलको संगठनलाई समेत सुरक्षा निकायले विशेष निगरानीमा राखेको र राख्नुपर्ने योजना बनाएको खुलेको हो ।
राजधानीमा शुक्रबार भएको उपत्यकाको विशेष सुरक्षा गोष्ठीमा सहभागी सुरक्षा निकायका अधिकारीहरुले मधेसी मोर्चा, विप्लव माओवादी, सीके राउत र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा गठित नयाँ शक्तिको गतिविधिलाई निगरानीमा राख्नुपर्ने सुझाव दिएका थिए।
गृहमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा भएको गोष्ठीमा सुरक्षा अधिकारीहरुले यस्तो सुझाव दिएका हुन् । यी समूहहरुको गतिविधि सुरक्षा चुनौती हुनसक्ने अधिकारीहरुको विश्लेषण छ ।
‘नयाँ शक्तिले जनताको घरदैलोमा गएर चन्दा उठाउने भनिएको अभियान समेत हामीले निगरानीमा राखेका छौं’, गोष्ठीमा सहभागी एक सुरक्षा अधिकारीले भने, ‘करकापमा पारेर चन्दा उठाएको थाहा पाए कारवाही गछौं ।’
मधेसी मोर्चाले राजधानी केन्द्रित गर्ने भनेको आन्दोलनको गतिविधिलाई उच्च सतर्कताको साथ नियाल्न गृहमन्त्री बस्नेतले गोष्ठीमा सहभागी सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।
‘कुनै घटना घटाएर राजधानीमै सुरक्षा व्यवस्था फितलो छ भनेर अन्तर्राष्ट्रियकरण गर्न संविधान विराधी शक्ति सक्रिय छन्, त्यसकारण पनि मन्त्रीज्यूले त्यस्तो निर्देशन दिएको हुनपर्छ’ एक अधिकारीले भने ।
मधेस केन्द्रित दलहरुले शान्तिपूर्ण आन्दोलन गरे पनि त्यसको फाइदा लिने तत्व सक्रिय हुनसक्ने भन्दै गोष्ठीमा सुरक्षा अधिकारीले सतर्क हुनुपर्ने निश्कर्ष निकालेका छन् ।
गोष्ठीमा बोल्दै गृहमन्त्री बस्नेतले संविधान कार्यान्वयन गर्ने र नगर्ने पक्षबीच अहिले संघर्ष चलिरहेको बताए ।












