३० चैत, काठमाडौं । खोटाङको हादेवस्थान–१ स्थित काग्रेपानी र बर्खेटार बीचको भीरमा यात्रु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ जना पुगेको छ ।
मृत्यु हुनेमध्ये गाडी चालक काठमाडौंका अर्जुन उप्रेती, उदयपुरका शान्ता राई, बजुनारायण श्रेष्ठ, उदिम राई, हेम सुनुवार, ओमश्री राई, खोटाङ निर्मालीका विमला राई, खोटाङ च्यास्मिटारका प्रेम राई, डिकुवाका मेजर राई, याम्खाका भैरव राई, खार्मीकी नेत्रकुमारी राई, सुङ्देलका गोविन्द तिमिल्सेना, सोलुखुम्बुकी सुस्मा राई र सोलखुम्बुकै सोम सुन्दासको सनाखत भएको सशस्त्र प्रहरी हलेसी गुल्मका निरीक्षक फुर्गेली शेर्पाले बताए । अन्यको सनाखत हुन सकेको छैन ।
दिक्तेलबाट काठमाडौं गइरहेको बा २ ख ६३७६ नम्बरको बस दुर्घटना हुदा ड्राइभर अर्जुन उप्रेती लगायत २४ जनाको मृत्यु भइसकेको उद्धारमा संलग्न सशस्त्र प्रहरी निरीक्षक शेर्पाले बताए ।
अन्य २३ जनालाई हलेसीस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । नेपाली सेनाको शेरगण मुढे ब्यारेकका प्रमुख सेनानी मदन न्यौपानेका विरामी लिएर गएको सेनाको हेलिकोप्टर काठमाडौं अवतरण भइसकेको छ । घाइतेमध्ये अधिकांश गम्भिर भएको उद्धारमा संलग्न गुरुप्रसाद ढकालले बताए ।
दिक्तेलबाट १८ जना यात्रु बोकेको बसले बाटोमा थप्दै लगेकाले कति यात्रु सवार थिए भन्ने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले मृतक र घाइतेको उद्धार गरेको छ ।
















