२९ चैत, काठमाडौं । सभामुख ओनसरी घर्ती मगरले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि आइतवार साँझ बसेको संवैधानिक परिषद्को बैठकको निर्णयमा आफूले कुनै हालतमा हस्ताक्षर नगर्ने वताएकी छिन् । ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचाररत सभामुख घर्तीले आफ्नो सहमतिविना प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक राखेर निर्णय गरेकोले निर्णयमा आफ्नो सहमति नहुने घोषणा गरेकी छिन् । आफू विरामी भएर आपतकालीन अवस्थामा उपचाररत रहँदा रहँदै आफ्नु पनि सहमती भनी प्रचार गरेर राखिएको सो बैठक अमानवीय भएको पनि उनले बताइन् ।
सभामुख घर्तीको असहमतीका कारण आइतवार सांझ भएको नयां प्रधानन्यायाधीशको नियुक्ति सिफारिस विवादमा परेको छ ।
प्रधानमन्त्रीले सभामुखलाई भेटेर सहमती लिई बैठकबाट निर्णय गरिएको भनी प्रकाशित समाचारप्रति घर्तीले असहमती जनाएकी छिन् । आफूले प्रधानमन्त्रीलाई केही दिनका लागि बैठक सारिदिन आग्रह गरेको समेत सभामुख घर्तीले बताइन् ।
सभामुख घर्तीले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियाप्रति नै आफ्नो असहति रहेको जिकिर गरेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्ष रहने संवैधानिक परिषद्मा सभामुख, प्रधानन्यायाधीश, उपसभामुख र विपक्षी दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ । कानुनअनुसार कुनै एकजनाको अनुपस्थिति भएमा कोरम नपुग्ने भएकाले सो बैठकले निर्णय गर्न नसक्ने समेत व्यवस्था छ । यद्यपि आइतबारको बैठकमा नयाँ प्रधानन्यायधीशमा सुशीला कार्कीलाई नियुक्ति गर्न सिफारिश निर्णय परिषद्ले गरेको थियो ।











