पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालमा चीनको सहयोग वृद्धि गर्दै लैजानुपर्ने बताउनुभएको छ । नेपाल र चीनबीच नयाँ सम्झौता भएको सन्दर्भमा छोटो कुराकानी गर्दै देउवाले नेपाल र चीनबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताए । प्रस्तुत छ उनीसँग गरिएको छोटो कुराकानी :
आगामी दिनमा नेपाल चीन सम्बन्ध अझ बलियो बनाउन के गर्नुपर्ला ?
नेपाल चीनबीच अत्यन्त राम्रो सम्बन्ध छ । विगत साठी वर्षको अवधिमा दुई देशबीचको सम्बन्ध अझै विस्तार भयो । चीनले नेपालमा सडक निर्माण, उद्योग स्थापनालगायतका धेरै कुरामा ठूलो सहयोग गरेको छ । हामी पनि चीनलाई अन्यन्त महत्व दिन्छौं त्यसकारण नेपाल चीन सम्बन्ध घनिष्ट रहँदै आएको छ । र, अहिलेसम्म चीन र नेपालबीच त्यस्तो समस्या पनि केही छैन ।
विश्वकै उदाउँदो अर्थतन्त्रका रुपमा चीन आएको छ । र यो अवस्थामा छिमेकी भएको नाताले अब नेपालले के गर्नुपर्छ र दुई देशबीचको सम्बन्ध कसरी अगाडि बढाउनुपर्छ ?
चीन चाहिँ अहिले संसारकै नम्बर वान इकोनोमी बन्न गइरहेको छ । नेपालले धेरै फाइदा लिन सक्छ चीनबाट । चीनले लगानी गरेका कम्पनीहरु पनि अहिले नेपालमा धेरै आइरहेका छन् । चीनले नेपालको आर्थिक स्थिति बढाउने काममा निकै मद्दत गरेको छ । आगामी दिनमा पनि चीनको यो सहयोगलाई अझ वढाउँदै लैजानुपर्छ । भूकम्पले हामीलाई दुःख दिएको अवस्थामा पनि चीनले ठूलो सहयोग गर्यो अझै पनि हामीलाई चीनको सहयोगको आवश्यकता छ । वास्तवमा चीनको सम्पन्नताले हामीलाई फाइदा भैरहेको छ । विगतदेखिको यस्तो अत्यन्त मजबुद र घनिष्ट सम्बन्धलाई आगामी दिनमा अझै मजबुद बनाउन नै हामीले जोड दिनुपर्छ ।
तपाईं प्रधानमन्त्री हुँदा नेपाल चीन सम्बन्धलाई अझै बलियो बनाउन केही चाहना लिनुभएको थियो ?
एउटा देशको प्रधानमन्त्रीले छिमेकी देशको सम्बन्धमा नयाँ आयाम थपौं भन्ने चाहना हुनु स्वभाविक हो, जुन ममा पनि थियो र छ । नेपाल चीन सम्बन्ध सधैं प्रगाढ रहोस् र अझै मजबुद बनोस् भन्ने नै मेरो चाहना छ ।












