(नेपाल चीनबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको छ दशकपछि पुग्दा दुवै देश नयाँ युगमा प्रवेश गरेका छन् । ६ दशकपहिलेको र अहिलेको अवस्थामा निकै परिवर्तनहरु आएका छन् । सदियौंदेखिको नेपाल चीनबीचको सांस्कृतिक सम्बन्ध सन् १९५५ देखि कुटनीतिक सम्बन्धका रुपमा अगाडि बढेको हो । ६ दशक पुगेको विशेष अवसरमा नेपाल र चीनबीच पारवहन लगायतका महत्त्वपूर्ण विषयमा सम्झौता सम्पन्न भएको छ ।
एक्काइसौं शताब्दीमा दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै अगाडि बढाउनका लागि के गर्नुपर्ला त ? नेपाली राजनीतिमा लामो समय विताएका तथा नेपालको सरकार प्रमुख भैसकेका पूर्वप्रधानमन्त्रीहरुले नेपाल चीन सम्बन्धलाई आगामी दिनमा आर्थिक कुटनीतिका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । पत्रकार क्रन्दन चापागाईंले नयाँ शक्ति नेपालका संयोजक समेत रहेका डा. बाबुराम भट्टराईसँग गरेको कुराकानी ।)
नेपाल चीनबीचको सदियौं वर्ष पुरानो सम्बन्ध कुटनीतिक सम्बन्धका रुपमा स्थापित भएको ६० वर्ष पुगेको अवसरमा चीन र नेपालबीच महत्त्वपूर्ण सम्झौता भएको छ । अब यसभन्दा अगाडिको सम्बन्धलाई अझ प्रगाढ बनाउन के गर्नुपर्ला ?
हो, नेपाल र चीनबीच हजारौं वर्षदेखि सुखद मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ र त्यसलाई आधुनिक युगमा आइसकेपछि सन् १९५५ मा जुन दौत्य सम्बन्ध (कुटनीतिक सम्बन्ध) औपचारिक रुपले स्थापित भयो त्यसको अहिले साठी वर्ष पुगेको छ । यो साठी वर्षको समीक्षा गर्दा चीन र नेपालको सम्बन्ध आदर्श सम्बन्धका रुपमा रह्यो । किनकि यी साठी वर्षमा चीनसँग नेपालका गम्भीर प्रकारका समस्या रहेका छैनन् । केही सिमाका विवादहरु थिए तिनलाई दुईपक्षीय छलफल गरेर टुंग्याइएको छ । हामीबीच त्यस्ता कुनै पनि समस्या छैनन् जुन विषयले दुई देशबीचको सम्बन्ध तितो बनाएको होस् । त्यसैले यसलाई हामीले आदर्श सम्बन्धको रुपमा लिनुपर्छ । यसको सँगसँगै युग बदलिएको छ । चीन एउटा ठूलो शक्तिका रुपमा उदाउँदो छ । नेपाल पनि एउटा राजनीतिक संक्रमण पूरा गरेर नयाँ औद्योगिक युगमा प्रवेश गर्दै छ । त्यसैले आगामी दिनमा नेपाल र चीनको सम्बन्धलाई उही परम्परागत र भावनात्मक सम्बन्धका रुपमा मात्र नराखी यसलाई आर्थिक, सामाजिक सम्बन्धमा रुपान्तरण गरेर लैजानुपर्छ । त्यस निम्ति चीनको विकास प्रक्रियाबाट नेपालले पनि लाभ लिन चाहन्छ । चीनसँग भौतिक पूर्वाधार, सडक, रेल, हवाइ नेटवर्क वृद्धि गर्ने लगानी पर्यटन र व्यापरा लगायतका सम्बन्धलाई विस्तार गर्ने र परम्परागत र सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ पार्ने काम चाहिँ हामीले गर्नुपर्छ ।
यसैमा एउटा कुरा म जोडन के चाहन्छु भने यति सुखद परम्परागत सम्बन्धमा पछिल्लो चरणमा हालसालै भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको चीन भ्रमणको क्रममा नेपाली भूभाग लिपुलेकको सम्बन्धमा नेपालसँग सरोकार नै नराखीकन चीन र भारतले मात्रै लिपुलेक भञ्ज्याङबाट व्यापारिक नाका खोल्ने जुन निर्णय गरियो त्यसले चाहिं नेपालमा अलिकति चिसो आशंका जन्माएको छ । त्यसैले यस विषयमा चीनले पुनर्विचार गरोस् । लिपुलेक नेपालको अविच्छिन्न भूभाग हो । नेपालको सार्वभौमसत्ता अखण्डतासहितको भूभाग भएको हुनाले त्यसबारेमा पुनर्विचार गरेर लिपुलेकमाथिको नेपालको स्वामित्व कायम राख्न मद्दत गरोस् । त्यसो हुन सक्यो भने नेपाल र चीनबीचको जुन आदर्श सम्बन्ध छ त्यो आगामी दिनमा अझै मजबुत हुन्छ भन्ने मलाई लाग्छ ।
चीन र भारत दुई शक्तिराष्ट्रबीच नेपाल छ । नेपाललाई तपाईंले विगतमा परिभाषित गर्दा दुई देशबीचको डाइनामाइट पनि हुन सक्छ भनेर भन्नुभएको थियो । त्यसपछि तपाईं प्रधानमन्त्री पनि भैसक्नुभा छ । अब नेपालले चीन र भारतबीच कस्तो सम्बन्ध निर्वाह गर्न सक्छ ?
परम्परागत रुपमा भारत र चीनको बीचमा अवस्थिति रहेको नेपाललाई एउटा भूराजनीतिकरुपमा दुई ढुङ्गाबीचको तरुल भनेर पृथ्वीनारायण शाहले परिभाषित गरेका थिए । र, नेपालको परराष्ट्र नीतिको छिमेकी सम्बन्धमा यसैलाई नै दोहोर्याउँदै आइएको थियो । म प्रधानमन्त्री भएपछि यो दुई ढुङ्गाबीचको तरुल होइन दुइटा विशाल अर्थतन्त्रबीचको एउटा गतिशिल पुलको रुपमा नेपाललाई विकास गर्नुपर्छ र अहिलेको बदलिँदो परिस्थिति सँगसँगै आफूलाई चाहिं तरुलको रुपमा होइन एउटा गतिशिल पुलको रुपमा लिनुपर्छ भन्ने विम्ब मैले प्रयोग गरेको थिएँ । त्यसैले यो एक्काइसौं शताब्दीमा चीन र भारत दुइटै महाशक्ति देशको रुपमा उदय हुँदैछन् । त्यसबाट नेपालले अधिकतम लाभ लिएर नेपाल अगाडि बढ्न र नेपालको स्वाधिनताको रक्षा गर्दै समृद्ध नयाँ नेपाल बनाउन हामीले यी दुई देशको बीचमा एउटा गतिशिल पुलकै रुपमा काम गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
चीनको रेलमार्ग नेपालसँग जोड्ने जुन सम्भावनाको कुरा भैरहेको छ । यसलाई कसरी अगाडि बढाउन सकिन्छ ?
जुन चीनको रेल अहिले सिगात्सेसम्म आएको छ । त्यसलाई काठमाडौंसम्म विस्तार गरेर लुम्बिनीसम्म लिएर जाने र भारतसँगको सहयोगमा भारतसम्म त्यसलाई लिएर जाने भयो भने त्यो रेलमार्ग चीन र भारतबीच नेपालमार्फत हुने व्यापारको सेतु वा पुल बन्न सक्छ ।
त्यस अतिरिक्त गण्डकी, कोशी र कर्णालीका उत्तर दक्षिण जोड्ने लोकमार्ग जसलाई मैले राष्ट्रिय गौरवका योजनाका रुपमा आफ्नो प्रधानमन्त्रीत्वकालमा अगाडि बढाएको थिएँ । ती मार्गलाई छिटो सम्पन्न गरेर चीन र भारतको बीचमा सडक सञ्जालले पनि जोड्ने ढंगले अगाडि बढ्नु पर्दछ भन्ने म ठान्दछु ।












