८ चैत, बेइजिङ । भारतको क्षेत्रीय दादागिरीलाई चुनौति दिंदै नेपाल र भारतले नयाँ सम्झौता र समझदारीमा हस्ताक्षर गरेका छन् । नेपाल भारत दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा नेपाल र चीनबीच पारवहन व्यापारसहित १० वटा सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको हो ।
सोमबार चिनियाँ संसद् भवन ग्रेट हल अफ पिपुलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्वाङ नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्तापछि सम्झौताका विभिन्न तहमा हस्ताक्षर भएको हो । नेपाल र चीनले पारवहन सम्झौता गरेका छन् । सम्झौतापत्रमा नेपालका परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षर गर्नुभएको छ । नेपाललाई चिनियाँ बन्दरगाहमा पहुँच दिने यो सम्झौतालाई महत्वका साथ हेरिएको छ ।
खुला व्यापार, ग्यास तथा पेट्रोलियम अन्वेषण ट्रेडमार्क दर्तासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ । यस्तै पोखरा विमानस्थल निर्माणका लागि सहुलियत ऋण सम्झौता पनि हस्ताक्षर भएको छ । यो सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार विमानस्थल निर्माणका लागि चीनले ३१ अर्ब रुपैयाँ दिने छ । यसको २५ प्रतिशतमा ब्याज लाग्ने छैन भने बाँकीमा २ प्रतिशत ब्याज लाग्ने छ ।
यस्तै हिल्सा सडक एवम् सुख्खा बन्दरगाह निर्माणसम्बन्धी अर्को सम्झौता भएको छ । यसमा पनि नेपालका तर्फबाट अर्थमन्त्रीले हस्ताक्षर गर्नुभएको छ । यसैबीच चिनियाँ बैंकको नेपालमा शाखा खोल्ने सम्झौता पनि हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्री लि खछयाङको निमन्त्रणामा आइतबार चीनको राजधानी बेइजिङतर्फ जानुभएको हो । चैत १४ गतेसम्म हुने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका विभिन्न शहरको भ्रमण र भेटघाट गर्ने कार्यक्रम छ ।












