६ चैत, चितवन । चितवनमा रहेका दुर्लभ वन्यजन्तु एक सिंगे गैडाका ३६९ वटा खागहरु जलाएर नष्ट गरिने भएको छ । २० वर्षदेखि चितवनमा संकलन भएका दुर्लभ वन्यजन्तुका अंग जलाइने भएको हो । एक सिँगे गैँडाको खाग, पाटे बाघको छाला, जंगली हात्तीका दाह्रालगायतका जीवजन्तुका अंग जलाउने तयारी गरिएको हो ।
शनिबार १३ जना सांसदसहितको टोलीले चितवनमा रहेको वन्यजन्तुको अवशेष ९अखेटोपहार०को अवस्था अनुगमन गरेको छ । वातावरण संरक्षण समितिका सभापति सांसद जनकराज चौधरीको नेतृत्वमा १३ जना सभासदको टोलीले चितवनमा रहेका अखेटोपहारको निरीक्षण गरेको हो ।
अनुगमनाका क्रममा सभापति चौधरीले महत्वपुर्ण वन्यजन्तुका अवशेष अखेटो पहार जलाउँदा पछि आउन सक्ने समस्याका बारेमा सचेत रहन आग्रह गर्दै जलाउन मिल्ने आधार प्रमाण के हुन भनी जिज्ञाशा राखेका थिए।
देशभरीका वन्यजन्तुका अवशेष संकलन गरेर राखिएको सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीका प्रमुख सह सेनानी धनबहादुर थापाले बिग्रिँदै गएको र धेरै भएका कारणले थप सुरक्षा दिन कठिनाई भएको बताए ।
राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक फडिन्द्रराज खरेलले हरेक अवशेषको वारकोर्ड तयार गरेर मात्र जलइने बताए। अहिले जलाउने तर भोलि कहीँ कतै यही वस्तु देखिने अवस्था अन्त्य गर्नका लागि बारकोड बनाएर मात्र अखेटोपहार जलाइने उनले बताए।
वन विभागका महानिर्देशक रेशम डाँगीले वन्यजन्तुको अवशेषको सुरक्षा र व्यवस्थापन गर्न कठिनाई भएकै कारण जलाउनुपर्ने बताए। वन मन्त्रालयका सहसचिव एवम् वातावरण विभागका प्रमुख विजयराज पौडेलले वन्यजन्तु तस्करहरुको साथबाट बरामद गरिएका र कालगतिले मरेका जनावरका अंगहरु सुरक्षित राखिएको भए पनि लामो समयसम्म राख्दा बिग्रने भएकाले समयमै व्यवस्थापन गर्ने काम सुरु भएको बताउँदै जति सक्दो छिटो व्यवस्थापन गरिने बताए ।
सरकारले यसअघि पूर्वी चितवनको टिकौलीमा झण्डै २० वर्षअघि अखेटोपहार जलाएर नष्ट गरेको थियो । त्यसपछि जम्मा भएका अंगहरु अझै पनि जलाइएको छैन ।
२० वर्षका बिचमा चितवनमा गैँडाका ३ सय ६९ खाग, पाटे बाघका ६९ वटा छाला, जंगली हात्तीका १ सय ८५ वटा दाह्रा, चितुवाका ४ सय ९३ छाला, कस्तुरी मृगको ३६ थान बिना संकलन भइसकेका छन् । अन्य महत्वपूर्ण बन्यजन्तुको अखेटोपहार पनि संकलन भएको छ ।












