२ चैत, काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली चीन भ्रमणको तयारी गरिरहेका बेला एमालेका अन्य दुई वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री पाकिस्तानको घुमफिरमा रहेका छन् ।
एउटै औपचारिक कार्यक्रममा सहभागी हुन दुई भिन्नाभिन्नै विमानमार्फत पाकिस्तान पुगेका नेताद्वय झलनाथ खनाल र माधव नेपाल यतिवेला त्यहाँका मनोरम स्थलको अवलोकनमा रहेका छन् ।
पाकिस्तानको आकर्षक भ्यू प्वाइन्ट ‘दामन ए कोह’ मा गएर नेता खनाल र नेपालले निकै तस्वीरहरु खिचाएका छन् । पाकिस्तानस्थित नेपाली दूतावासमा पुग्नुका साथै त्यहाँका कर्मचारीसँग दामन भ्यू प्वाइन्टमा खुट्टा हल्लाउँदै खिचिएका तस्वीरहरु हामीलाई प्राप्त भएका छन् ।
हरेक समयका तस्वीर खिचेर रेकर्डका लागि राख्न रुचाउने नेता माधव नेपालले पोजपोजका तस्वीर खिचाएका छन् । दामन भ्यू प्वाइन्टमा नेपालले चस्मा लगाएर र कम्मरमा हात राखेर आकर्षक पोजको तस्वीर खिचेका छन् ।
त्यति मात्र होइन नेता नेपालले पाकिस्तानी प्रहरी र सुरक्षाकर्मीसँग उभिएर समेत तस्वीर खिचेका छन् । अचम्मको कुरा त के छ भने पाकिस्तानी सुरक्षाकर्मीसँग बसेर माधव नेपालले तस्वीर खिच्दा झलनाथ टुलुटुलु हेरेर बस्न बाध्य भएको देखिन्छ ।
















