२८ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भावी पुस्तामा समेत राष्ट्रप्रेमको भावना ओतप्रोत गराउने शिक्षा दिनुपर्ने बताएकी छिन् ।
शुक्रबार धुलिखेलमा काठमाडौं विश्वविद्यालयको रजत जयन्ती महोत्सवको शुभारम्भ कार्यक्रममा बोल्दै उनले विद्यार्थीलाई श्रमप्रति सम्मान गर्दै राष्ट्रहितमा आफुलाई समर्पित गराउने शिक्षा आवश्यक भएको बताइन् । ‘अहिलेको युगले मागेको शिक्षा विज्ञान र प्रविधीमा आधारित भएपनि आफ्नो संस्कृति, भूगोल, इतिहास र राष्टि«य सम्पदाप्रति यथेष्ठ जानकारी, श्रद्धा एवं सम्मान जगाउने हुनुपर्छ,’ उनले भनिन्, ‘शिक्षा मार्फत राज्यले सुसंस्कृत नागरिक तयार गर्नुपर्छ ।’
उनले गुणस्तरीय शिक्षा र रोजगारीको लागि विदेशीनेको संख्या वर्षेनी बढेको भन्दै स्वदेशमा चाहिने जनशक्ति आफैं तयार पार्न नेपाली विश्वविद्यालयहरु सक्षम हुनुपर्ने बताइन् ।
कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री नै मुलुकका सबै विश्वविद्यालयको कुलपति हुने व्यवस्था खारेज गर्ने आश्वासन दिए । उनले शिक्षा क्षेत्रमा योगदान दिएका मध्येबाट कुलपति छानिनुपर्ने तर्क गरे । ‘प्रधानमन्त्री भएकै कारण म धेरै विश्वविद्यालयको कुलपति छु, यो तमासा रोकिनुपर्छ,’ उनले भने, ‘सरकार, शिक्षा मन्त्रालय र विश्वविद्यालयविच समन्वय हुने संयन्त्र बनाएर प्रधानमन्त्री नै उपकुलपति हुने व्यवस्था अब म हटाउँछु ।’ उनले देशका सबै क्षेत्रमा चाहिने विधागत जनशक्ति विश्वविद्यालयले तयार गर्नुपर्ने तर्क गरे । धनी र गरिबले लिने खालको शिक्षा प्रणाली हुन नहुने तर्क गर्दै उनले शिक्षा, व्यवहारिक, प्रतिस्पर्धी र जीवन उपयोगी हुनुपर्ने बताए ।
सहकुलपति समेत रहेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रको नेतृत्व गर्न सक्ने जनशक्ति विश्वविद्यालयले उत्पादन गर्न सक्नुपर्ने बताए । उपकुलपति डा। रामकण्ठ माकजूले मुलुक निर्माण गर्ने तागत नेपालीहरुसग कति रहेछ भन्ने उदाहरण विश्वविद्यालयले प्रस्तुत गरेको दाबी गरे । संस्थापक उपकुलति डा। शुरेसराज शर्माले नमुनाको रुपमा सञ्चालित विश्वविद्यालयले बोलेको कुरा पुरा गरेको दाबी गरे ।
काठमाडौं विश्वविद्यालय ऐन २०४८ आएपछि स्थापना भएको विश्वविद्यालयले आफ्नो रजत महोत्सवको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।













