२८ फागुन, काठमाडौं । पेट्रोलको कालोबजारीकै कारण सत्तामा टिकिरहेका प्रधानमन्त्री केपी ओलीले नाकाबन्दी खुलेपछि पनि मनलाग्दी मूल्य राखेर कालोबजारी गर्न दिएको कुरा कसैसँग छिपेको छैन । तर अनौठो त त्यतिवेला भएको जब ओलीले नै कालोबजारी गर्न अनुमति दिंदादिंदै पनि उनका कार्यकर्ताले पेट्रोलपम्पमा सिलबन्दी गरे । पेट्रोलको मूल्य ९९ सय रुपैयाँ हुँदाहुँदै पनि १३० रुपैयाँमा विक्री गर्ने अनुमति दिएको ओली सरकारको निर्णयको एमालेको भ्रातृ संगठन युवा संघले विरोध गरेको हो । युवा संघले तीनकुनेको भ्याली रिकेश सप्लायर्समा आज तालाबन्दी गरेको छ । सो पेट्रोल पम्पले खुलेआम कालोबजारी गरेको भन्दै युवासंघको सामाजिक सेवा विभागले शुक्रबार पम्प बन्द गराएको हो । युवा संघका कार्यकर्ता रमेश तिवारी संजीव रोक्का, सुजन राई लगायतका करिब २५ जना कार्यकर्ताले पेट्रोल पम्पमा तालाबन्दी गरेका हुन् ।
एउटा देशमा विभिन्न थरिका पेट्रोलको भाउ राखी कालाबजारी गर्न दिने आयल निगमका प्रमुखलाई तुरुन्त कारबाही गर्न युवा संघले सरकार समक्ष माग समेत गरेको छ । सरकारले कार्बाही प्रक्रिया अघि नबढाए युवा संघले कडा कदम चाल्ने संघका अध्यक्ष राजीव पहारीले चेतावनी दिएका छन् ।












