२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको कोषाध्यक्षमा निर्वाचित सीतादेवी यादव यसअघि कांग्रेसको केन्द्रीय राजनीतिमा नदेखिएकी व्यक्ति हुन् । पहिलोपल्ट पदाधिकारीको उम्मेदवार बनेर पनि मन्त्री भैसकेका र धेरै समय केन्द्रीय राजनीतिमा रहेका दुई व्यक्ति चित्रलेखा यादव र उमाकान्त चौधरीलाई पराजित गर्ने सीतादेवीको जीवन संघर्षमय छ ।
सिराहा क्षेत्र नं तीनकी प्रत्यक्ष निर्वाचित सांसद सीतादेवी तीन कार्यकालसम्म सिराहा कांग्रेसको सभापति भैसकेकी छिन् ।
माओवादी द्वन्द्वकालमा उनका पतिको हत्या भएको थियो । पतिको हत्यापछि उनी निरन्तर सिराहा कांग्रेसको सभापति बन्दै आएकी छिन् । केही समय पहिले भएको मधेसी दलको आन्दोलनमा उनको सिराहाको घर जलाइएको थियो । मधेसमा कांग्रेसलाई जोगाउन परिवार र घर नै गुमाएकी समर्पित व्यक्ति भएका कारण महाधिवेशन प्रतिनिधिहरुले उनलाई मत दिएको स्पष्ट हुन्छ ।
सीतादेवीले जित्नुमा उनको संघर्षमय जीवन मात्रै कारक छैन झिनो मतान्तरले पराजित चित्रलेखा यादव शिक्षामन्त्री हुँदा भ्रष्ट्राचार र विदेश घुम्न रमाउने प्रवृत्तिका कारण अलोकप्रिय बनेकी थिइन् । फलस्वरुप पनि सीतादेवीले कडा प्रतिश्पर्धाका बीचमा विजय हासिल गरिन् ।
कोषाध्यक्षमा विजयी सीतादेवीले निर्वाचित भएलगत्तै आफूलाई जिताउने नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै जिम्मेवारी पूरा गर्न लागिपर्ने बताइन् । संविधान कार्यान्वयन, आर्थिक रुपान्तरण र महिला सशक्तिकरणका लागि काम गर्ने र सोही दिशातिर पार्टीलाई केन्द्रित गर्न पहल गर्ने यादवले बताइन् । मधेसमा कांग्रेसलाई बलियो बनाउन आफ्नो घर परिवार नै गुमाएर लागेको बताउँदै उनले अझ सशक्त रुपले काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।












