२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा विपीपुत्र सशांक कोइरालाले विजय हासिल गरेका छन् । कांग्रेस पार्टी मुख्यालय सानेपामा आज भएको मतगणनामा सुरुदेखि नै अग्रता लिएका सशांकले विजय हासिल गरेका हुन् ।सशांकले निकटतम प्रतिद्वन्द्वी अर्जुननरसिह केसीलाई भारी मतले पराजित गरेका छन् । कांग्रेसका संस्थापक नेता विपी कोइरालाका कान्छा छोरा सशांकको जितसँगै कांग्रेसमा भित्रैदेखि एकता हुने विश्वास कार्यकर्ताले लिएका छन् । शेरबहादुर देउवा सभापति र सशांक महामन्त्री भएपछि पार्टी एक भएर अगाडि बढ्ने विश्वास पार्टी कार्यालय सानेपामा भेला भएका कार्यकर्ताहरुले व्यक्त गरे ।
लोकप्रिय भनिएका नेता गगन थापा भने महामन्त्री पदमा नराम्रोसँग पराजित भएका छन् । थापा तीन उम्मेदवारमध्ये तेस्रो बनेका छन् ।












