२५ फागुन, चितवन । कांग्रेसको नयाँ नेतृत्व चयनसँगैएकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको स्वरुपबारे पहल गर्ने बताएका छन् । नेपाली काँग्रेसका नवनिर्वाचित सभापतिसँग भेटेर राष्ट्रिय सहमतिको सरकार बनाउन पहल सुरु गर्ने उनले बताएका छन्।
पश्चिम चितवनको नारायणी नगरपालिका–४ अमृतनगरमा निर्मित सहिद स्मारक प्रतीक्षालयको मंगलबार उद्घाटन गर्दै उनले प्रमुख दलहरु सरकारमा नै रहेर संविधान कार्यान्वयन र पुनः निमार्णमा जुट्नुपर्ने बताए ।
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक प्रचण्डले १६ बुँदे सहमति अनुरुप नै काँग्रेस, नेकपा एमाले, एमाओवादी सहितका दलको सहभागितामा सरकार निर्माणका लागि समितिको बैठक बसेर पहल सुरु गरिने बताए । उनले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र राष्ट्रिय एकता एवम् समृद्धिका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने बताए ।
प्रचण्डले माओवादीबीचको एकताको गृहकार्य अन्तिम चरणमा पुगेको पनि बताए । सो क्षेत्रमा मङ्गलपुरबाट मेघौलीसम्म जाने सडक कालोपत्रे गर्न, चितवन राष्ट्रिय निकुञ्जका जनावरबाट प्रभावित जनतालाई उचित राहत दिलाउन र नदी कटान रोक्न आवश्यक पहल गरिने उनले आश्वासन दिए ।












