२५ फागुन, काठमाडौं । नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत दुई पदाधिकारी महामन्त्री र कोषाध्यक्ष पदको मतगणना सुरु भएको छ । मङ्गलबार दिउँसोदेखि पदाधिकारीको मतगणना पार्टी कार्यालय सानेपामा सुरु भएको हो ।

निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार पदाधिकारीको मत गणना सकिएपछि मात्रै केन्द्रीय सदस्यको मतगणना पनि सुरु हुनेछ। राष्ट्रिय सभागृहमा सभापतिको मतगणना सोमबार राति नै सकिएको थियो । महामन्त्रीमा तीन जना र कोषाध्यक्षमा चार जनाबीच प्रतिस्पर्धा रहेको छ ।
काँग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवाले एक हजार ८२२ मत प्राप्त गरी सभापतिमा निर्वाचित भए भने अर्का प्रत्यासी पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेलले एक हजार २९६ मत प्राप्त गरे । नयाँ नेतृत्वका लागि पहिलो चरणको निर्वाचन यही आइतबार सम्पन्न भएको थियो ।











