२५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले पुरुष सरह अधिकार र पूर्ण सम्मान पाउनु पर्ने बताएका छन् । १०६ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा काठमाण्डौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरुष सरह नै महिलाले पनि हरेक निकायमा बराबरी अधिकार पाउनु पर्ने धारणा व्यक्त गरेका हुन् । महिलाले जति योगदान यो मुलुकमा अरु कसैले नदिएको र दुःख पनि महिलाहरुले नै पाएको दावी उनले गरे ।
नयाँ संविधानको उपलब्धीको कारण पछिल्लो समय नेपालमा महिला राष्ट्रपति, सभामुख जस्ता निकायमा पुग्नु ठुलो उपलब्धि मान्नुपर्नेमा प्रधानमन्त्रीको दावी थियो । हतार गरेर केही नहुने भन्दै नेपालमा महिलाले विश्वका तुलनामा अधिकार प्राप्त गर्दै गएको तर्क उनले गरे ।
प्रधानमन्त्री ओलीले विश्वका कतिपय ठूलो देशहरुलाई पनि हाम्रो उपलब्धिले चुनौति दिएको उनले बताए । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन लगायतको उपस्थिति रहेको थियो ।












