काठमाडौं, २२ फागुन । तराईमा महिनौं आन्दोलन गरेर पछाडि हटेका मधेसी मोर्चाका नेताहरुलाई भारतले फेरि डाकेको छ । भारतले राजनीतिक परामर्श गर्नका लागि डाकेपछि मधेस केन्द्रित ७ राजनीतिक दलका नेताहरु अर्को साता दिल्ली जाने तयारीमा छन् ।
चार दिने भ्रमणका क्रममा उनीहरु यही फागुन २९ मा दिल्ली जान लागेका हुन्। उनीहरु ३० गते थिंक ट्यांकको अन्तरक्रियामा सहभागी हुने मोर्चाका नेताहरुले जनाएका छन् ।
औपचारिक कार्यसूचीमा अन्तरक्रिया भनिए पनि उक्त भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेट हुने मोर्चा उच्च स्रोतले जानकारी दिएको छ। भरतीय विदेशमन्त्री सुष्मा स्वराज, भाजपा, कंग्रेस आईलगायत नेतासँग भेट गर्ने कार्यक्रम अहिलेसम्म तय भएको र अन्य भेटघाट पनि हुन सक्ने तराई मधेस लोकतान्त्रिक पार्टीका एक नेताले जानकारी दिए।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा सम्बद्ध दलले मात्र मधेस आन्दोलनको जस पाउनुपर्ने र भारतले आफूहरुलाई मात्र सघाउनुपर्ने जिकिर गर्दै आएका छन् । तर यसपल्ट भने भारतले मोर्चाबाहिरका अन्य साना दलका नेताहरुलाई समेत एकैपल्ट भारत बोलाएको छ ।
भाजपा नेता भगतसिंह कोसियारीले शनिबारसम्म मधेसी मोर्चाका नेताहरुसँग परामर्श गर्न र कांग्रेसको आगामी नेतृत्व आफू अनुकुल बनाउने कसरतका गरेका थिए । कोसियारी शनिबार दिल्लीतिर लागेका छन् ।












