२२ फागुन, नेपालगञ्ज । कांग्रेसको महाधिवेशनको नीति र नेतृत्वलाई चासोका साथ हेरेको बताएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गिराउने खेलमा नलागेको स्पष्ट पारेका छन् । महाधिवेशनपछि ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने खेलमा एमाओवादी लागिरहेको कुरा सतहमा आइरहेका वेला प्रचण्डले यस्तो स्पष्टिकरण दिएका हुन् ।
एकीकृत नेकपा माओवादी बाँकेले शनिबार नेपालगञ्जमा शनिबार गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले आफूले सरकार बनाउने र गिराउने योजना नबनाएको स्पष्ट पारेका हुन् ।
उनले नेपाली कांग्रेसको महाधिवेशनपछि राष्ट्रिय एकताको सरकार बनाउने विषयमा छलफल चलिरहेको भने बताए । प्रचण्डले भने, ‘राष्ट्रिय सहमतिको सरकार बनाउने भनेको यो सरकार ढलाउने भनेको होइन ।’
१६ बुँदे सहमतिमा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको स्मरण गर्दै प्रचण्डले अहिले पनि राष्ट्रिय सहमतिको सरकारको कुरा गर्नु यो सरकार गिराएर अर्को सरकार गठन गर्नु नभएको बताए ।
संविधान कार्यान्वयन र पुनर्निर्माणका लागि सबै राजनीतिक शक्तिबिच एकता अपरिहार्य रहेको उनको भनाइ छ ।
देशलाई स्थिर राजनीतिक वातावरणमा लैजान मधेसी मोर्चासँग सहमतिको प्रयास भइरहेको उनले बताए । भारतको नाकावन्दीले सबै नेपालीमा राष्ट्रियताको भावना जागृत गराएको दावी उनको थियो ।
महाधिवेशनपछि सरकारको स्वरुप फेरिने भन्ने प्रचण्डको अभिव्यक्तिपछि डराएर प्रधानमन्त्री ओलीले सरकार नढल्ने बरु कांग्रेस पनि यही सरकारमा आउने दावी गरेका थिए ।












