२२ फागुन, काठमाडौं । भृकुटीमण्डपमा जारी कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत नेतृत्वका लागि मतदान आइतबार विहान हुँदैछ।
कांग्रेसमा ६४ पदका लागि आइतबार निर्वाचन हुने भएको हो । शुक्रबार ३७५ जनाले उम्मेदवारी दिए पनि शनिबार ६३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। अब ६४ पदका लागि ३११ जनाबीच प्रतिश्पर्धा हुँदैछ ।
मतदानको कार्यक्रम आइतबार बिहान ८ बजेदेखि राष्ट्रियसभागृहमा हुने कार्यक्रम छ । सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएर दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृहमा सोमबार २४ गते बिहान १० बजेदेखि २ बजेसम्म मतदान गरिने तालिकामा उल्लेख छ ।
निर्वाचनमा ९ किसिमका मतपत्र बनाइने कांग्रेसले बताएको छ । सभापतिको एउटा र महामन्त्री एवं कोषाध्यक्षका लागि एक/एकवटा मतपत्र हुनेछन् । त्यस्तै, खुल्लातर्फका २५ सदस्य र प्रदेशबाट दुई/दुई जनाका दरले निर्वाचित हुने सदस्यका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरिँदै छ ।
आरक्षित कोटाबाट निर्वाचित हुने महिला, जनजाति, मधेसी, दलित र मुस्लिम उम्मेदवारका लागि पनि छुट्टाछुट्टै मतपत्र हुनेछन् । सबै मतपत्र फरक/फरक रंगका हुनेछन् ।
कांग्रेसको सभापति, महामन्त्री र कोषाध्यक्षसहित ६१ केन्द्रीय सदस्यका लागि ३ सय ७५ जनाको उम्मेदवारी परेको थियो ।
सभापतिमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला, महामन्त्रीमा शशांक कोइराला, अर्जुननरसिंह केसी र गगन थापा तथा कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्णबहादुर कार्की भिड्दै छन् ।
निर्वाचनमा कांग्रेसका ३१ सय ८२ प्रतिनिधिले नयाँ नेतृत्वका लागि मतदान गर्ने भएका छन् ।












