२१ फागुन, काठमाडौं । नेपाली काँग्रेसमा नयाँ नेतृत्वका लागि ३ सय ७५ जनाको उम्मेद्वारी परेको छ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रबार अपरान्ह १२ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकेकामा सभापति, महामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्य पद्का लागि ३ सय ७५ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् । सभापतिमा कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले उम्मेद्वारी दर्ता गराएका छन् । पौडेल र सिटौलाले पार्टी मुख्यालयमा पुगेर आफ्नो प्यानलको एकसाथ उम्मेद्वारी दर्ता गराएका छन् । पौडेलको प्यानलबाट महामन्त्रीमा डा. शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव तथा सिटौलाको प्यानलबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीको उम्मेद्वारी दर्ता भएको छ । देउवाले भने विहिवार नै उम्मेद्वारी दर्ता गराएका थिए । देउवाको प्यानलबाट महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवले उम्मेद्वारी दर्ता गराएकी छिन् । कोषाध्यक्षमा स्याङ्जाका कृष्ण कार्कीको पनि उम्मेद्वारी परेको छ ।
६१ जना केन्द्रीय सदस्यका लागि ३ सय ६५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । खुल्लातर्फ २५ सदस्यका लागि ९४ जनाको, प्रदेशतर्फ १४ सदस्यका लागि १ सय २ जनाको तथा महिलातर्फ ६ सदस्यका लागि ४० जनाको उम्मेद्वारी परेको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार, दलिततर्फ ३ सीटका लागि २१, दलित महिलातर्फ २ सीटका लागि ६, आदिवासी जनजातितर्फ ३ सीटका लागि ५०, आदिवासी जनजाति महिलातर्फ २ सदस्यका लागि १४, मधेशीतर्फ ३ सदस्यका लागि १८, मधेशी महिलाको २ सीटमा १० तथा मुस्लिमको एउटा कोटामा १० जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
निर्वाचन समितिले मनोनयन गरेका उम्मेद्वारहरुको अन्तिम नामावली दाबी विरोधपछि शनिबार विहान ११ बजे पछाडि प्रकाशन गरिने जनाएको छ । नेपाली काँग्रेसको केन्द्रीय समिति ८५ सदस्यीय हुनेमा २१ सदस्य भने सभापतिले मनोनयन गर्ने व्यवस्था छ ।












