२० फागुन, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई आफ्नो संरचना समावेशी बनाउन निर्देशन दिएको छ । आयोगले संविधानको मर्म र भावना अनुसार उक्त निर्देशन दिइएको जनाएको छ ।
नेपालको विविधतालाई प्रतिनिधत्त हुने गरी कार्यकारणी गठनका लागि दलहरुलाई आयोगले निर्देशन दिएको हो । ‘संविधानको मर्म र भावना अनुसार राजनीतिक दलको कार्यकारणी समावेशी समानुपाति हुनुपर्छ,’ आयोगका प्रवक्ता वासुदेव गुरागाईंले भने ‘संविधानजारीपछि दलहरुको महाधिवेशन प्रारम्भ भएकाले बेलैमा सचेत गराएका हौं ।’

आयोगले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै संविधानको धारा २६९ को उपधारा (४) को खण्ड ग को व्यवस्थालाई कार्यान्वयन गर्न दलहरुलाई भनेको हो । संविधानको उक्त धारामा ‘दलका विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिविम्वित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था हुनुपर्छ ‘ भनिएको छ ।
प्रवक्ता गुरागाईंले त्यस अनुसार दलको संरचना निर्माण गरी आयोगलाई जानकारी दिन आयोगमा दर्ता रहेका १ सय ७९ दलहरुलाई पत्राचार गरिएको बताए ।
‘अहिले महाधिवेशन गरिरहेका दललाई आयोगको पत्र पुग्न ढिलाई भएपनि समाचारका माध्यमबाट ध्यानाकर्षण होस भन्ने हाम्रो चाहना छ,’ गुरागाईंले भने । संघीय कानुनहरु बन्न बाँकी रहेकाले थप निर्देशन नदिई तत्काललाई संवैधानिक व्यवस्था तर्फ मात्र आयोगले ध्यानाकर्षण गराएको हो । आयोगको बैठकले दलको कार्यकारिणी समितिलाई उपयुक्त समावेशी बनाउन र त्यस अनुसारको पत्राचार गर्न निर्णय गरेको उनले जानकारी दिए ।











