२० फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा उनले वारेसनामाको रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । विहीबार विहान पार्टी कार्यालयमै आफ्नो प्यानल घोषणा गरेका देउवाले अपराह्न उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि संस्थापन पक्षलाई साथ दिंदै आएका केबी गुरुङलाई नै प्रस्तावक बनाएर देउवाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारीको समर्थकमा खुमबहादुर खड्का रहेका छन् ।
१३ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दर्ता गराउने देउवा पहिलो नेता हुन् ।
आफू खुलामञ्चमा आयोजित महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुनुपर्ने भएकाले देउवाको वारेशनामाको रुपमा रमेश लेखकले उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्ता गराउन देउवाकी श्रीमती आरजु राणा पनि सानेपास्थित पार्टी कार्यालयमा पुगेकी थिइन् ।
कांग्रेसको सभापति पदमा कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारी दर्ता भोलिसम्म जारी रहने नेपाली कांग्रेसले जनाएको छ ।












