१९ फागुन, काठमाडौं । विहीबारदेखि सुरु हुने कांग्रेस महाधिवेशनमा यसपल्ट सभापतिका चार जना आकांक्षी देखिएका छन् । यद्यपि बलिया दावेदार मानिएका शेरबहादुर देउवाले भने अहिलेसम्म आफ्नो उम्मेदवारीको आधिकारिक घोषणा गरेका छैनन् । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र सुजाता कोइरालाले वुधबार सभापति पदमा उम्मेदवारी घोषणा गरे पनि देउवाले गरेनन् । केबल उनले भ्रातृ संगठनले गरेका कार्यक्रममा र सार्वजनिक समारोहमा मात्रै आफू सभापति पदको दावेदार रहेको बताउँदै आएका छन् ।
कार्यवाहक सभापति रामचन्द्र पौडेलले वुधबार साँझ पार्टी कार्यालय सानेपामा आफ्नो उम्मेदवारीको घोषणा विपी पुत्र र गणेशमान पुत्रका साथमा गरेपछि देउवा पनि पार्टी कार्यालयमै पुगेर आफ्नो उम्मेदवारी घोषणा गर्ने योजनामा लागेका छन् । सधैं आफ्नो निवास बुढानिलकण्ठमै रमाउने र गुटको बैठक त्यहीँ गर्ने देउवालाई गुटबाट माथि उठाउने उद्देश्यले पार्टी कार्यालयमै उम्मेदवारी घोषणा गर्ने सुझाव उनी निकट पत्रकारहरु वसन्तप्रकाश उपाध्याय र केदार कोइरालाले दिएको बुझिएको छ । सोही अनुरुप देउवाले विहीबार ११ बजे पार्टी कार्यालय सानेपामा सभापति पदका लागि आफ्नो आधिकारिक उम्मेदवारी घोषणा गर्ने भएका छन् । स्मरणीय छ १२ औं महाधिवेशनमा सुशील कोइरालाले पार्टी कार्यालयमा उम्मेदवारी घोषणा गरेका थिए र सोही कारण पनि सुशीलको पक्षमा मत देखिएको विश्लेषण गरिएको थियो । अहिले सुशीलको त्यो सहानुभूति रामचन्द्र पौडेलले लिन खोजेको बुझिएको छ । तर संस्थापन पक्षका अधिकांश नेता पौडेल छाडेर देउवातिर लागेका कारण पुरातन शैली र कार्यक्रमकै कारण पौडेल सभापति बन्ने सम्भावना चुनौतिपूर्ण देखिएको छ ।












