१९ फागुन, काठमाडौं । नेपाली काँग्रेसले १३ औं महाधिवेशनमा आफ्ना महाधिवेशन प्रतिनिधिहरुलाई १ करोड २ लाख रुपैयाँको खाना खुवाउने भएको छ । काँग्रेसले फागुन १९ गते बेलुकादेखि २३ गते बेलुकासम्म १ करोड २ लाख ८६ हजार ८ सय ५० रुपैयाँको खाना र खाजा खुवाउने भएको हो । काँग्रेसको भोजन तथा आवास समितिले बुधबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी महाधिवेशनमा भाग लिने प्रतिनिधि र स्वयंसेवक गरी करिब ३ हजार ५ सय जनालाई बन्दसत्रस्थल भृकुटीमण्डपमा खाजा तथा खाना खुवाउने व्यवस्था मिलाइएको बताएको छ । समितिले महाधिवेशन प्रतिनिधिहरुलाई चार दिन विहानको खाजामा अण्डा नछुटाउने भएको छ । खाजाका परिकार चारै दिन अलग अलग भएपनि अण्डा भने नछुटाइएको समितिका संयोजक बलबहादुर केसीले बताए । उनका अनुसार महाधिवेशन प्रतिनिधिहरुलाई ९ छाकको खानामा खसी र कुखुराको मासु खुवाइने भएको छ । त्यसका अलावा २ दिन माछाको समेत व्यवस्था मिलाइएको संयोजक केसीले जानकारी दिए ।
संयोजक केसीले महाधिवेशन प्रतिनिधिहरुलाई खाना खुवाउनु पहिले हरेक दिन चिकित्सकहरुबाट जाँच गर्ने व्यवस्था मिलाइएको बताए । भोजन तथा आवास समितिले महाधिवेशन प्रतिनिधिहरुका लागि आवासमा एक करोड रुपैयाँ खर्च हुने अनुमानसहित १ सय २७ वटा होटल बुक गरेको छ । बुक गरिएका होटलमा काठमाडौ उपत्यकाका महाधिवेशन प्रतिनिधिहरु बस्न पाउने छैनन् । संयोजक केसीले गौशाला, ठमेल, सुन्धारा र बागबजारका १ सय २७ वटा होटलमा १ हजार २ सय ४१ वटा कोठा बुक गरी हरेक महाधिवेशन प्रतिनिधिहरुलाई अलग अलग बेडको व्यवस्था मिलाइएको बताए । महाधिवेशन प्रतिनिधिहरुले होटलमा बस्दा साँझ एक बोत्तल पानी र विहान एक कप चिया पाउने छन् । संयोजक केसीले मदिरा र अन्य खर्च भने महाधिवेशन प्रतिनिधिहरु आफैंले व्यहोर्नुपर्ने बताए ।












