१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि रामचन्द्र पौडेलले सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । वुधबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा कार्यवाहक सभापति पौडेलले महामन्त्री पदका लागि विपी पुत्र सशांक कोइरालासहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । पौडेल प्यानलको कोषाध्यक्षमा सितादेवी यादवको उम्मेदवारी घोषणा गर्ने तयारी भए पनि वुधबार कोषाध्यक्षको उम्मेदवारी भने घोषणा भएन ।
पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले सशांकको साथले आफूलाई नयाँ शक्ति मिलेको बताए । आफूले जितेमा प्रकाशमान सिंहलाई उपसभापतिमा मनोनयन गर्ने प्रतिबद्धता उनले सार्वजनिक गरे । नेपाली कांग्रेसको सभापति पदका दाबेदार रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा नाकाबन्दी खुलेको र आपूर्ति सहज भएको दाबी समेत गरे ।
कार्यकर्ताको जोडबलले आफू महामन्त्री पदको उम्मेदवार बनेको विपी पुत्र सशांक कोइरालाले बताए । विपीले प्रतिपादन गरेको नीतिमा कांग्रेसलाई हिंडाउनका लागि आफूहरुको प्यानल सक्षम हुने उनले दावी गरे ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेलले आफ्ना समर्थक र पत्रकारहरुमाझ उम्मेदवारी घोषणा गर्दा घोषणा गर्दा समर्थकहरुले ताली बजाएर स्वागत गरेका थिए । पत्रकार सम्मेलनमा डा. रामशरण महत र डा. मीनेन्द्र रिजाल पनि सहभागी थिए ।












