१९ फागुन, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले १३ औं महाधिवेशनमा आफ्ना प्रतिस्पर्धी रहेका कार्यवाहक सभापति रामचन्द्र पौडेलमाथि पार्टी विभाजन गर्न मुख्य भूमिका खेलेको आरोप लगाएका छन् । १३ औं महाधिवेशन सुरु हुनु एक दिन पहिले वरिष्ठ नेता देउवाले कार्यवाहक सभापति पौडेलमाथि पार्टी विभाजन गर्न मुख्य भूमिका खेलेको आरोप लगाएका हुन् । वरिष्ठ नेता देउवाले बुधबार काठमाडौंको एउटा पार्टी प्यालेसमा महिला कार्यकर्ताहरुसामु आफूलाई पार्टीको साधारण सदस्य समेतबाट निकालिएको अवस्थामा पौडेलले नै तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको दास बन्न सकिंदैन भनेर पार्टी विभाजन गर्न उक्साएको आरोप लगाए । उनले निर्दलीय व्यवस्थामा जसरी आफूलाई साधारण सदस्य समेत नरहने गरि निकालिएका कारण कारवाही फिर्ताका लागि दवाब दिन भेला बोलाउनु आफ्नो वाध्यता भएको सुनाए । वि. सं. २०५९ सालमा संकटकाल लागू गर्ने विषयलाई लिएर भएको विवादले उग्र रुप लिँदा नेपाली काँग्रेस विभाजन भएको थियो ।
वरिष्ठ नेता देउवाले पौडेलले तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको मनोमालिन्य सहन नसकिने भन्दै उन नै सभापति हुने गरी पार्टी विभाजन गर्न लगाएको तर अन्तिम समयमा उनले धोका दिएपछि आफू सभापति बनेर निर्वाचन आयोगमा दल दर्ता गराएको बताए ।
.
विभाजनको पाँच वर्षपछि नेपाली काँग्रेसमा एकीकरण भएको थियो । वरिष्ठ नेता देउवाले कार्यवाहक सभापति पौडेलमाथि पार्टीलाई नेतृत्व प्रदान गर्ने क्षमता नै नरहेको बताए । उनले पौडेललाई निकै सानो चित्त भएको नेताको रुपमा टिप्पणी गर्दै शान्तिमन्त्रीको जिम्मेवारी पाएका बेला उनकै सानो चित्तका कारण द्वन्द्वपीडित कार्यकर्ताले सरकारबाट सहयोग पाउन नसकेको बताए ।
आफ्नो नेतृत्वमा जारी भएको संविधानको कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी काँग्रेसले लिनुपर्ने र पार्टीको नेतृत्वका लागि आफू सबैभन्दा उपयुक्त पात्र आफू भएको दावी गरे । महिला, दलित, जनजाति लगायतको हकहितका लागि पार्टीमा आफूले सबैभन्दा धेरै काम गरेको भन्दै पार्टीका संरचनाहरु महिलामैत्री बनाउने प्रतिबद्धतासहित महिला कार्यकर्ताको भेलाबाट देउवा बाहिरएका थिए ।












