१८ फागुन, काठमाडौं । नेपाली काँग्रेसका सभापतिका आकांक्षीहरुका सम्पर्क कार्यालयमा नेता तथा कार्यकर्ताहरुको भीड बढ्न थालेको छ । सभापतिका आकांक्षीहरुले प्यानलको घोषणा गर्ने तयारी गरिरहेका बेला केन्द्रीय सदस्यको सूचीमा आफ्नो नाम पार्नका लागि सम्पर्क कार्यालयमा देशभरबाट आएका नेता तथा कार्यकर्ताहरुको भीड बढेको हो । वरिष्ठ नेता शेरबहादुर देउवा मंगलबार अपरान्ह नयाँ वानेश्वरस्थित सम्पर्क कार्यालयमा महाधिवेशन प्रतिनिधिहरुबाट घेरिनुभएको छ । देउवाको सम्पर्क कार्यालयमा पुगेका अधिकांशले केन्द्रीय सदस्यको सूचीमा आफ्नो नाम राखिदिन आग्रह गरे ।
देउवाले भने पदाधिकारी वाहेक केन्द्रीय सदस्यमा सूची बनाउँदा पार्टीमा नराम्रो सन्देश जाने जवाफ दिएका थिए । उनले सकेसम्म सबैलाई चित्त बुझाउने गरी वुधबार पदाधिकारीको टिम घोषणा गर्ने जानकारी पनि गराएको भेटवार्तामा सहभागी महाधिवेशन प्रतिनिधिहरुले बताएका छन् । महाधिवेशन प्रतिनिधिहरुले देउवासँगको भेटघाटका क्रममा भोटको अवस्था बारेमा समेत जानकारी गराएका थिए ।
सभापतिमा संस्थापन पक्षका उम्मेद्वार रामचन्द्र पौडेलको अनामनगरस्थित सम्पर्क कार्यालयमा पनि महाधिवेशन प्रतिनिधिहरुको आउजाउ बढेको छ ।












