१८ फागुन, काठमाडौं । नयाँ जोगीले धेरै खरानी घस्ने जस्तै डा बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति अभियानले पनि समाज परिवर्तनका लागि पाँच नयाँ कार्यक्रम घोषणा गरेको छ । सरसफाइ, भ्रष्ट्राचारविरोधी अभियान, सामाजिक सद्भाव कायम गर्ने, नेपाली उत्पादनलाई प्राथमिकता दिने र महिला हिंसाविरोधी कार्यक्रम संचालन गर्ने घोषणा उसले मंगलबार गरेको छ । नयाँ शक्तिले मंगलबार पत्रकार सम्मेलन गर्दै सामाजिक अभियान अगाडि बढाउने योजना सार्वजनिक गरेको हो । राजनीतिक शक्ति बन्ने योजनासहित सुरु भएको नयाँ शक्तिले राजनीतिक भन्दा पनि गैरसरकारी संस्थाहरुले गर्ने प्रकृतिका कार्यक्रमहरु अगाडि बढाउने योजना ल्याएको हो ।
नेपालको राजनीतिमा नयाँ इतिहास बनाउने भन्दै सार्वजनिक गरिएका योजनाहरुमा काठमाडौंलाई हरियाली पार्ने तथा सरसफाइ गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
त्यस्तै भ्रष्ट्राचार विरोधी कार्यक्रम गर्ने तथा आफ्ना सबै कार्यालयमा भ्रष्ट्राचार विरोधी हेल्प डेस्क राख्ने घोषणा समेत नयाँ शक्तिले गरेको छ ।
त्यस्तै नयाँ शक्तिले महिला हिंसा विरुद्ध लड्न यसको महिला विभाग मार्फत हेल्प डेस्क र कानुन व्यवसायीको सहयोग उपलब्ध गराउने भएको छ ।












