१७ फागुन, चितवन। नारायणी नदी आजकल युवायुवतीको लभस्पट बन्ने क्रम बढ्दो छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण नारायणी नदीको त्यो ढिस्को जहाँ आजकल मायालु जोडीहरु चरमआनन्दमा भेटिन्छन् । तर दुर्भाग्य त्यही रमणीय ढिस्कोमा सेल्फी खिच्दा एक युवती नदीमा डुवेर बेपत्ता भएकी छिन् । चितवनको भरतपुर उपमहानगरपालिकास्थित नारायणी नदीमा सेल्फी खिच्दा डुबेर आइतबार दिउँसो १ बजेदेखि विस्मिता ज्ञवाली बेपत्ता छिन् ।

नवलपारासीको गैंडाकोट १६ बस्ने १८ वर्षीया नम्रता सापकोटा र सोही ठाउँकी उनकी साथी विस्मिता ज्ञवाली नदीमा डुबेका थिए । बग्दै गरेको अवस्थामा प्रत्यक्षदर्शी श्याम थापाले ४० मिटर परबाट नम्रतालाई सकुशल उद्वार गरेका थिए ।
नेपालदेश डटकमका फोटो पत्रकार कृष्णराज पाण्डेले त्यही ढिस्कोमा पुगेर केही तस्वीरहरु खिचेका छन् । ढिस्कोसँगसँगै नारायणी नदीका अन्य विशेषतासहितका तस्वीरहरु हामीले यहाँ प्रस्तुत गरेका छौं :
नारायणी नदी नेपालका प्रमुख नदीमध्येको एक नदी । नारायणी प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।
नारायणी किनारमा आजकल प्रेमी जोडीको बाक्लो उपस्थिति देखिन्छ ।
निजी कलेजमा पढ्ने किशोरकिशोरीको प्रेमलिलाले नारायणी किनार ढाकिनु सामान्य मानिन थालिएको छ ।
मानववस्तीदेखि जंगल हुँदै बहने नारायणीमा विभिन्न जातका चराचुरुङ्गी खेलेको हेर्न पाइन्छ ।
माछा मार्नेदेखि डुङ्गामा शयर गर्नका लागि पनि नारायणी नदी आकर्षक मानिन्छ ।
यो नदी किनारमा देवघाट लगायतका तीर्थस्थल छन् । जहाँ स्नान गर्नाले पुण्य प्राप्त हुने विश्वास गरिन्छ । यतिसम्म कि नारायणी नदी किनारमा जीवनको अन्तिम श्वास फेर्न पाए सिधै स्वर्ग जाने विश्वासका साथ देवघाटमा जीवनको उत्तरार्द्व विताउन वृद्धवृद्धाहरु बसिरहेका छन् ।


















