१७ फागुन, काठमाडौं । सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सनतकुमार वस्नेतले ९ करोडभन्दा बढी रुपैयाँ भ्रष्ट्राचार गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको छ । उनी लगायत सात जनाविरुछ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार भ्रष्टाचारको मुद्दा दायर गरेको हो । बस्नेतले ९ करोड १५ लाख ८१ हजार रुपैयाँ भ्रष्ट्राचार गरेको दावी गर्दै सोही अनुसारको विगो तथा जरिवानाको माग दावी गरिएको छ ।

०६६ वैशाखदेखि ०६८ श्रावण महिनासम्म सशस्त्रमा महानिरीक्षक पदमा रहँदा मातहत युनिटमा सामान ढुवानीमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
यस्तै यही प्रकरणमा सामेल भएको भन्दै सशस्त्र प्रहरी निरीक्षक विनबहादुर थापाविरुद्ध पनि त्यति नै रकमको माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
यस्तै सशस्त्र प्रहरी निरीक्षक मनुहिरा महतविरुद्ध ७३ लाख र शिबबहादुर कार्कीविरुद्ध २३ लाख रुपैयाँ माग दावी गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
यस्तै सशस्त्र प्रहरी नायब निरीक्षक निलबहादुर श्रेष्ठ र लेखबहादुर खत्रीले १ करोड ६ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरिएको छ ।











