१५ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वित्तीय पहुँचबाट वाहिर रहेका महिला र समुदायमा सेवा केन्द्रित गर्न सहकारी संस्थाहरुलाई आग्रह गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले शनिबार काठमाडौमा राष्ट्रिय सहकारी बैंकको १२ औं साधारणसभा उद्घाटनका क्रममा सहकारी मुलुकको अर्थतन्त्रको एउटा प्रमुख क्षेत्र भएकाले सहकारी संस्थाहरुले वित्तीय पहुँचबाट वाहिर रहेका समुदायमा सेवा केन्द्रित गर्नुपर्ने बताइन् ।
उनले सहकारी संस्थाहरुलाई सहरमा सीमित नहुन आग्रह गरिन् । राष्ट्रपति भण्डारीले कृषि क्षेत्रमा परनिर्भरता घटाउन तथा घरेलु उद्योग र लघु पशुपालनमार्फत गरिब जनताको जीनस्तर उकास्न सहकारी जतिको भरपर्दो अर्को माध्यम नरहेको समेत उल्लेख गरिन् ।
कानूनी प्रावधान र सहकारी आन्दोलनको मूल्य मान्यताका बारेमा जानकारी नहुँदा सर्वसाधारणहरु सहकारीबाट ठगिन पुगेको तथ्यलाई ख्याल गरी बलियो कानून बनाएर कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब बडालले मुलकको आर्थिक विकासमा सहकारी क्षेत्रले ठूलो योगदान गरिरहेको भन्दै केही सहकारी संस्थाले सर्वसाधारण ठगेको आधारमा सबै सहकारीलाई एउटै आँखाले नहेर्न आग्रह गरेका थिए ।
सहकारी विधेयक अहिले मन्त्रीपरिषद्को विधेयक समितिमा छ । कार्यक्रममा सहकारीको माध्यमबाट जनताको जीवनस्तर उकास्न योगदान पु¥याएको भन्दै एक दर्जन व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।












