११ फागुन, न्युयोर्क । विश्वभर सामाजिक संजालबाट जीवनसाथी खोज्ने क्रम तीव्र भैरहेका बेला नेपालीहरुले यसैको प्रयोग गरेर जीवनसाथी खोज्न सक्ने वेभ साइट एक नेपाली युवाले तयार पारेका छन् । अमेरिका बस्ने एक नेपाली युवाले आधुनिक प्रविधिको प्रयोग गरी नेपालीहरुलाई जीवनसाथी खोज्ने कम्पनी संचालन गरेका हुन् । बर्दियामा जन्मेर अमेरिकाको हााभर्ड विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेका आशुतोष श्रीवास्तवले ‘नेपाली विवाह’ नामबाट नेपालीहरुका लागि जीवनसाथी जुटाइदिने कम्पनी संचालन गरेका हुन् । विश्वभर रहेका नेपालीहरुलाई चाहनाअनुसारको वर वा वधु खोजिदिने उद्देश्यसहित आफूले यस्तो कम्पनीको सुरुवात गरेको कुरा श्रीवास्तवले नेपालदेश डटकमसँग बताए ।
सूचना प्रविधिको विकाससँगै विश्व नै गाउँ बनिरहेको सन्दर्भमा विश्वका कुनै पनि देशमा रहेका नेपालीहरुका लागि उपयुक्त र चाहेजस्तो जोडी खोजिदिने उद्देश्यले आफूले अमेरिकाबाट यस्तो साइट संचालन गरेको उनले बताए । यसबाट विश्वमा नेपालको वैवाहिक संस्कृतिको प्रचारप्रसार गर्ने आफ्नो मुख्य उद्देश्य रहेको उनको दावी छ ।
यसका लागि श्रीवास्तवले कलइटमी कम्पनीअन्तरत नेपालीविवाह डटकम संचालन गरिरहेका छन् । नेपालीविवाहडटकममा गएर आफ्नो परिचय राखेपछि सम्बन्धि व्यक्तिको चाहनाअनुसारको जोडी छान्न मिल्ने उनले बताए । नेपालीविवाह डटकममा गएर हरेक व्यक्तिले आफ्नो अकाउन्ट खोल्न पनि सक्छ ।
विवाह गर्न चाहने वरवधु दुवैले निर्णय गर्नुअघि सम्भाव्य व्यक्तिहरुसँग अन्तरक्रिया गर्न पाउने प्रणालीको व्यवस्था गरिएको छ । कुनै व्यक्तिले अनलाइनमा आफ्नो बारेमा बढाइँचढाइँ गरेर व्याख्या गरेको भए पनि ती सत्यताको प्रमाणित आफ्नो प्रविधिले गरिदिने दावी समेत श्रीवास्तावले गरे । विशेषज्ञ तथा प्रविधिको प्रयोग गरी व्यक्तिहरुको प्रोफाइल, स्टाटस, कमेन्ट र समीक्षा लगायतका विषयको विश्लेषण र परीक्षण गरी विवाह गर्न चाहने व्यक्तिको चाहना अनुसारको जीवनसाथी चयन गरिने दावी उनको छ ।














