११ फागुन, काठमाडौं । नेकपा एमालका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टी नेताहरुलाई योग्यता र क्षमताका आधारमा नभइ निकटताका आधारमा जिम्मेवारी दिएको आरोप लगाएका छन् । नेकपा एमालेको दोलखा—काठमाडौ सम्पर्क मञ्चले मंगलबार काठमाडौमा गरेको कार्यक्रममा एमाले नेता नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीमाथि संकीर्ण विचारबाट प्रभावित भई आसेपासेलाई मात्र जिम्मेवारी दिएको आरोप लगाएका हुन् । उनले सबैलाई समेट्नुको साटो अहिलेकै प्रवृत्तिलाई निरन्तरता दिए पार्टी नेतृत्व स्थापित हुन नसक्ने बताए ।
नेता नेपालले पार्टीका कार्यकर्तालाई उत्पादनसँग जोड्ने कार्यक्रम ल्याउन नेतृत्वले ध्यान दिनुपर्ने पनि बताए । उनले पार्टीका सबै तहका कार्यकर्तालाई सहकारी र सामूहिक तथा व्यक्तिगत माध्यमबाट उत्पादनसँग जोड्नुपर्ने र त्यसो भए मात्र कार्यकर्ताहरु जीविकाका लागि गलत काममा नलाग्ने बताए । कार्यक्रममा नेता नेपालले एकीकृत नेकपा माओवादी लगायतका विभिन्न पार्टीका कार्यकर्तालाई एमालेमा प्रवेश गराएका थिए ।












