११ फागुन, काठमाडौं । कक्षा ११ र १२ तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्तर्गतका शैक्षिक कार्यक्रमको नतिजा पनि लेटर ग्रेडिङ प्रणालीबाट सार्वजनिक गरिने भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्को बोर्ड बैठकले ११ कक्षामा अब भर्ना हुने विद्यार्थीको नतिजा लेटर ग्रेडिङ प्रणालीबाट सार्वजनिक गर्ने निर्णय गरेको हो ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरी विद्यालय तहकै संरचना भएकाले ११ र १२ दुवै कक्षाको नतिजा लेटर ग्रेडिङ प्रणालीबाट सार्वजनिक गर्ने निर्णय गरेको जानकारी दिए । एसएलसीमा ९ वटा ग्रेडको व्यवस्था गरिएको भएपनि ११ र १२ कक्षामा कतिवटा ग्रेड कायम गर्ने भन्ने निर्णय भने भएको छैन । परिषद्को बोर्ड बैठकले ग्रेडका विषयमा सुझाव दिन परिषद्का सहसचिव दुर्गा अर्यालको संयोजकत्वमा समिति गठन गरेको छ ।मन्त्री पोखरेल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम प्रारुप तथा मूल्यांकन परिषद्ले गत मंसिर २३ गते एसएलसी परीक्षाको नतिजा लेटर ग्रेडिङ प्रणालीबाट सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
परिषद्को निर्णय अनुसार प्राविधिक एसएलसीमा गत असारबाट नै लेटर ग्रेडिङ प्रणाली लागू भइसकेको छ । शिक्षामन्त्री पोखरेलकै अध्यक्षतामा बसेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को बोर्ड बैठकले समेत परिषद् मातहतका शैक्षिक कार्यक्रमको नतिजा लेटर ग्रेडिङ प्रणालीमार्फत सार्वजनिक गर्ने निर्णय गरेको छ । लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्दा त्यसको असर रोजगारीका अवसरहरुमा पर्ने भएकाले शिक्षा मन्त्रालयले यस विषयमा लोकसेवा आयोगसँग प्रारम्भिक रुपमा छलफल समेत गरिसकेको छ । शिक्षामन्त्री पोखरेलले विश्वविद्यालय र लोकसेवा आयोग दुवैले लेटर ग्रेडिङ प्रणालीलाई सकारात्मक रुपमा लिएको भन्दै व्यवहारिक कठिनाइ समाधानका लागि मन्त्रालय मातहतका निकायले प्राविधिक अध्ययन गरिरहेको बताए ।












