१० फागुन, काठमाडौं । सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीले सरकारले जनचाहना अनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा सोमबार बसेको एकीकृत माओवादी स्थायी कमिटीको बैठकले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको हो । बैठकले काममा भइरहेको ढिलासुस्ती हटाउन, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गरी सरकारलाई गतिशील बनाउन सुझाव दिएको छ । आफ्नै दलबाट सरकारमा सहभागी नेताहरुलेसमेत प्रभावकारी काम गर्न नसकेको ठहर बैठकले गरेको हो । बैठकपछि एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले पार्टी र सरकारका कामकारबाहीका बारेमा समीक्षा भएको जानकारी दिए ।
बैठकमा सबै प्रदेशका प्रतिनिधिहरुले सरकारका कारण पार्टी बदनाम भएको धारणा राखेका थिए । बैठकले पार्टीका जिल्ला र केन्द्रस्तरमा रिक्त पदमा मनोनयन गर्ने जिम्मा पार्टी केन्द्रीय कार्यालयलाई दिने निर्णय गरेको छ ।












